गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं २ मा सोमबार नबिना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति बनाएको छ।
मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएका हुन्।
समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।
समितिमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुब खड्का सदस्य छन्।