काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने पुकार बमको घोषणा

पुकार बमले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् राजनैतिक र सामाजिक कार्यहरूलाई साक्षी राख्दै काठमाडौं क्षेत्र नम्बर १ का मतदाता समक्ष आफ्नो उम्मेदवारी प्रस्तुत गरेको बताएका हुन्।

‘अहिलेसम्म सडकबाट नागरिकका निम्ति सकेको काम गरेँ, अब संसद् पुगेर नागरिकको आवाज बोल्छु,’ उनले भने।

स्व. उज्वल थापासँग मिलेर २०६९ को साउनमा विवेकशील नेपाली दलको स्थापना गर्नेहरू मध्ये पुकार पनि एक हुन्। उनी ‘नेपाल खुल्ला छ’, ‘नेताज्यू खबरदार, संविधान कहिले?’ जस्ता दर्जनौँ रचनात्मक प्रतिरोधका राजनीतिक अभियानमा सक्रिय हुँदै आएका छन्।

‘म काठमाडौंकै मतदाता हुँ। विद्रोह र भद्र प्रतिरोध मेरो स्वभाव हो। कलेज पढ्दै गर्दा, परीक्षा नहुँदा कलेज प्रशासनलाई प्रश्न गरेँ,’ उनी भन्छन्, ‘आफै पढेको कलेजहरूका वेथितीविरुद्ध शान्तिपूर्ण अभियान चलाएँ। दोस्रो जनआन्दोलन पछिको परिवर्तनको घ्रषणले तरल भएको राष्ट्रिय एकता पुनः स्थापित गर्न नेपाल युनाइट्स अभियानको नेतृत्वदायी भुमिकामा रही काम गरेँ।’

लोकतन्त्रको नाउँमा नेताहरूले लुटतन्त्र मच्चाइरहेकाे उनकाे गम्भीर आराेप छ।

प्रकाशित मिति: : 2022-06-04 05:28:00

प्रतिकृया दिनुहोस्