तारा एयरको दुर्घटनाग्रस्त विमानमा भारतीय एकै परिवारका चार जना यात्रुले ज्यान गुमाएका छन्। विमानमा चालक दलका सदस्यसहित २२ जना सवार भएपछि अहिलेसम्म १७ जनाको मात्रै शव भेटिएको छ।
भारतीय चार जना यात्रुका लागि मुस्ताङ यात्रा जोमसोम टेक्नै नपाइँ अन्तिम यात्रा बनेको छ। उनीहरू भारतको महाराष्ट्र राज्यस्थित ठाणेबाट घुम्नका लागि नेपाल आएको बताइएको छ।
काठमाडौंस्थित भारतीय दूतावासकाअनुसार विमान दुर्घटनामा ज्यान गुमाउनेहरू ठाणेका ५४ वर्षीय अशोक त्रिपाठी, ५१ वर्षीया वैभवी बाँडेकर, २२ वर्षीय धनुष त्रिपाठी र १८ वर्षीया ऋतिक त्रिपाठी रहेका छन्।
अशोक र वैभवी श्रीमान–श्रीमती हुन् भने ऋतिक र धनुष छोरा–छोरी हुन्। उनीहरू पोखराको एक मन्दिर दर्शन गरेर तारा एयरमार्फत् मुस्ताङ यात्रामा निस्किएका थिए।
अशोक श्रीमती वैभवीबाट छुट्टिएर अलग्गै बस्थे। तर, उनीहरूको सम्बन्धविच्छेदको प्रक्रिया अदालतमा चलिरहेको थियो। छोरा–छोरी भने वैभवीसँगै बस्थे। उनीहरू अदालतबाट सम्बन्धविच्छेदको अन्तिम फैसला आउनुअघि दश दिन सँगै बिताउन नेपाल आएको भारतीय सञ्चारमाध्यम भास्कारले जनाएको छ।
मुस्ताङमा विमान दुर्घटनाको हल्ला फैलिएपछि वैभवीकी आमा ठाणेस्थित घरमा एक्लै थिइन्। उनीहरूको मृत्युपछि आफन्त र परिवारका अन्य सदस्यहरू स्तब्ध छन्।
वैभवी मुम्बईको बान्द्रा–कुर्लाको एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्थिन्। मृतक अशोकको ओडिशामा एचआर कन्सल्टेन्सी फर्म छ। उनी पाँच दाजुभाइमध्ये चौथो हुन्। उनका परिवारका बाँकी सदस्य पुणेमा बस्छन्। एघार वर्षअघि बितेका उनका बुवा जिल्ला न्यायाधीश थिए।
श्रीमतीबाट छुट्टिएर अलग्गै बसिरहेका अशोकलाई अदालतको अन्तिम फैसलाअघि एक वर्षमा १० दिन मात्रै छोराछोरीसँग समय बिताउन अनुमति दिएको थियो।