लमजुङको मध्य नेपालमा ट्रिपर दुर्घटना हुँदा मृत्यु भएका चारजनाको पहिचान खुलेको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा सोहि ट्रिपरका चालक अन्दाजी २७ वर्षिय आकाश भन्ने विनोद घिमिरे, तनहुँ व्यास नगरपालिका ७ कलेस्ती बस्ने अन्दाजी वर्ष ४५ का उत्तम न्यौपाने रहेका छन् भने अन्य दुईजना सल्यान कुमाख गाउँपालिका वस्ने अन्दाजी वर्ष २२ का पारस शाह र गोरखा नगरपालिका १२ वस्ने अन्दाजी वर्ष २४ का वर्षिय रविन्द्र सेढाई रहेका छन्।
मध्यनेपाल नगरपालिका वडा नम्वर ७ कोईलेनी भन्ने स्थानमा बा ४ ख ७७८१ नम्वरको ट्रिपर आइतबार साढे ३ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परि ट्रिपर चालक सहित चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्सपेक्टर जगदीश रेग्मीले बताए।
उक्त ट्रिपर मध्यनेपाल नगरपालिका ७ कल्याणबेसीबाट बतासेचोकतर्फ ढुङगा लोड गरी जाँदै गरेको अवस्थामा सडकबाट करिव ३० मिटर तल खसेको हो।
मध्यपहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमाण्डप कन्सट्रक्सन प्रालिको ट्रिपर दुर्घटना भएको हो। सडक उकालो कच्ची साँघुरो सडक लोड बढी भई ट्रिपर व्याक भएर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।