वाह रे जमाना!

सेतोपाटी

गोविन्द बेल्वासे

अग्रज पुस्ताका बुढाहरूले हामीलाई सिकाउँदै भन्थे- 'फाटेको टोपी लगाऊ तर चम्किलो रवाफदार जुत्ता लगाऊ।'

त्यो उतिखेर सुनिने नीति कथन थियो। त्यो कथनलाई व्याख्या गरेर भन्थे मित्रले, आँखा जुधाएर शीर तिर हेर्छ। त्यसैले फाटेको टोपीले मित्रतामा कमी हुँदैन, बरू आत्मीयता बढ्छ। तर, दुस्मनको नजर निहुरिएको हुन्छ र पाउँतिर हेर्छ।

त्यसैले दुस्मनको नजर पुग्ने ठाउँमा रवाफदार जुत्ता लगाऊ। अझ सम्भव भएसम्म जुत्ता यति चम्काऊ कि दुस्मनले आफ्नो बिम्ब त्यसैमा देखोस्। दुस्मनको तेज गिराउने कला थियो उनीहरूको त्यो कथन। धेरै दशक बितिसक्यो त्यो कथन नसुनेको। सायद नयाँ पुस्ताका धेरैले त्यो नीति कथन नसुनेका पनि हुन सक्छन्।

तर, उ बेला जुत्ता धेरै कम मान्छेका खुट्टामा हुन्थे। हैकम जमाउन सक्ने हुनेखानेका खुट्टामा मात्र जुत्ता हुन्थे। सर्वसाधारणका खुट्टा नाङ्गा हुन्थे। ती नाङ्गा खुट्टा यति बलिया भएका हुन्थे कि काँडे झाडी फाँडेर बारी बिराउँदा पनि काँडाले छेक्न सक्थेन।

एक/दुई काँडा भने सियो वा बेलका काँडाले नै घोचेर निकालिन्थ्यो र खुट्टो हल्का हुन्थ्यो। शिवजीलाई चढाइने तीन पाते बेलपत्र उत्पादन गर्ने बेलका रूखका काँडा खुट्टामा बिजेका काँडा निकाल्न खुब काम लाग्छ। नजिकमा बेलको काँडा नभेटिँदा अमिलाको काँडाले पनि उस्तै काम गर्छ।

उतिबेला पीन, सीयो त्यत्ति छ्याप्छ्याप्ती भेट्न सजिलो नभएकाले अमिलोको काँडा बडो सहयोगी हुन्थ्यो। अहिले विचार गर्छु, खुट्टामा घोच्दा स्टेरिलाइज गर्न नपर्ने अमिलाको काँडो स्वस्थ्यकर नै मान्न पर्ला।

प्रकाशित मिति: : 2022-05-03 16:28:00

प्रतिकृया दिनुहोस्