आईजीपी नियुक्तिको निर्णयविरूद्ध पोखरेल र थापा अदालत जाँदै

File Photo
File Photo

नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त


सरकारले तेस्राे वरियताका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई नेपाल प्रहरीको प्रमुख (आईजीपी) बनाएपछि पहिलाे र दाेस्राे वरियताका एआईजीहरू अदालत जाने भएका छन्।

मन्त्रिपरिषद्को आइतबारको बैठकले धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि विश्वराज पोखरेल र सहकुल थापा अदालत जाने तयारी गरेकाे हुन्।

आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजीद्वय पोखरेल र थापाले अदालत जाने तयारी गरेका हुन्।

पोखरेल सिंहभन्दा १६ महिनाअघि र थापा ११ महिनाअघि एआईजीपी बनेका थिए। आफूहरू सिनियर हुँदाहुँदै जुनियरलाई आईजीपी बनाइएको भन्दै कानुनी लडाइँ लड्ने उनीहरूले बताएका छन्।

सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सहमतिमा सिंह प्रमुख बनेका हुन्।

पोखरेल र थापा केपी ओलीको सरकारका पालामा एआईजी बनेका कारण उनीहरुलाई पन्छाइएको हो। सत्ता गठबन्धनले पहिलो र दोस्रो नम्वरका व्यक्ति प्रमुख हुँदा खतरा हुन सक्ने निचोड निकालेको हो। चुनावका बेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद भएको छ।

पोखरेल र थापा आईजीपीको रोलक्रममा ल्याउने गरी एकल बढुवा भएका थिए। ओली सरकारले एआईजी बनाएको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले वरियतामा पोखरेल र थापाभन्दा पछाडि रहेका सिंहलाई राजेको हो।

प्रकाशित मिति: : 2022-05-01 14:05:00

प्रतिकृया दिनुहोस्