रवि र प्रभु बैंकको कनेक्सन छानबिन गर्न महेश बस्नेतको माग

Break n Links
Break n Links

नेकपा एमालेका नेता महेश बस्नेतले रवि लामिछानेलाई अदालतको धरौटीमा ग्यारेन्टी बसिदिने प्रभु बैंकमाथि अनुसन्धान गर्नुपर्ने बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत बस्नेतले रवि लामिछानेलाई प्रभु बैंकले बिना धितो २ करोड २५ लाख उपलब्ध गराइरहेको भन्दै अनुसन्धान गर्न माग गरेका हुन्।

उनले भनेका छन्, ‘प्रभु बैंक र रवि लामिछानेबीचको कनेक्सन के हो? प्रभु बैंक र गोर्खा मिडियासँगको कनेक्सन के हो? विभिन्न सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया, जीबी राई र रवि लामिछानेलाई संरक्षण किन गर्दैछ प्रभु बैंक? केही न केही गलत र अपराधिक कर्ममा यिनीहरूको साँठगाँठ हुनुपर्छ! यसको  बारेमा सही छानबिन गरी कारबाही गर्न आवश्यक छ।’

उनले युवाहरूले व्यवसाय गर्छु भन्दा पाँच लाख नपत्याउने बैंकले लामिछानेलाई करोडौं रकम उपलब्ध गराइरहेको भन्दै प्रश्न उठाएका हुन्।
 
‘सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको निमित्त ९ वटा सेक्टरमा १५ लाख देखी २ करोड लोन प्रवाह गर भन्दा नटेर्ने वाणिज्य बैंकहरूले रातारात बिना धितो २ करोड २५ लाख किन उपलब्ध गराइरहेको छ?’ उनले प्रश्न गरेका छन्।

सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई आइतबार एक कराेड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। बैंक ग्यारेन्टी बुझाएर उनी छुटेका थिए।

यसअघि कास्की कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतबाट रविविरुद्ध माग भएको धरौटीमा पनि प्रभू बैंक ग्यारेन्टी बसेको थियो।

यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की अदालतबाट ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख बैंक धरौटी बुझाएर छुटेका थिए।

प्रकाशित मिति: : 2025-01-27 12:45:00

प्रतिकृया दिनुहोस्