कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर उम्मेदवारी टुंगो लागेपछि भने असन्तुष्टि चुलिएको छ।
असन्तुष्टि जनाउनेमा जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्।
तीनै दलले तालमेलमा न्यूनीकरण गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले बढी स्थानीय लिएको तीन दलका नेताहरूको आरोप छ।
जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपालाई तालमेलमा पूरै न्यूनीकरण गरेको भन्दै त्यस्तो प्रवृत्ति आपत्तिजनक भएको बताएका छन्।
उनले यसबारे बेलैमा ध्यान पुर्याउन गठबन्धनका अन्य नेताहरूलाई सचेत पनि गरे।
सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले शनिबार राति लेखेका छन्,‘प्रतिगमनविरोधी आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको, पाँच दलीय गठबन्धन र संयुक्त सरकार निर्माण निम्ति पार्टीको फुटको समेत जोखिम उठाएको, एमसीसी लगायतका राष्ट्रिय मुद्दाहरूमा निरन्तर स्पष्ट अडान राख्ने जसपालाई चुनावी तालमेलमा पूरै न्यूनीकरण गर्ने प्रवृत्ति आपत्तिजनक छ। बेलैमा ध्यान पुगोस्।’
मधेस प्रदेश, लुम्बिनी प्रदेशसहित बाग्मती प्रदेश र प्रदेश १ लगायत केही प्रदेशको तराई क्षेत्रमा मात्र जसपाले निर्वाचनमा तालमेल गर्दा बढी स्थानीय तह पाएका छन्।
पहाडी र हिमाली जिल्लामा शून्य जस्तै छ।
एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपालले नै तालमेलबारे घरिघरी असन्तुष्टि जनाउँदै आएका छन्।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त बिहीबार नै विज्ञप्ति जारी गरेर एउटा पनि महत्वपूर्ण नगरपालिका नपाएको भन्दै असन्तुष्टि जनाएका थिए।