दाङमा १५३ मतदान स्थल, तीन हजार बढी सुरक्षाकर्मी परिचालन

वैशाख ३० गते हुने स्थानीय तहको ‍निर्वाचनका लागि दाङमा १ सय ५३ वटा मतदान स्थल रहेका छन्। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लामा १ सय ५३ वटा मतदान स्थलमा ४ सय ६१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। म्यादी प्रहरीसहित तिन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन्।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि भर्ना भएका म्यादी प्रहरीसहित सुरक्षाकर्मीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। गएको चैतमा जिल्लामा १ हजार ७ सय भन्दा बढी म्यादी प्रहरी छनौट भएका छन्। उनीहरुलाई गएको सोमवार सुरक्षाकर्मी सहित परिचालन गरिएको प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

दाङका दश पालिकाका १ सय ५३ मतदान स्थललाई सुरक्षाको दृष्टिकोणले वर्गीकरण गरी त्यसैको आधारमा सुरक्षाकर्मी परिचालन गरिएको छ। म्यादी प्रहरी सहित नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानबाट समेत कर्मचारी परिचालन गरी आसन्न निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउने योजनाका साथ सुरक्षा व्यवस्थापन र परिचालन भएको उनले जानकारी दिए।

 

प्रकाशित मिति: : 2022-04-28 17:53:00

प्रतिकृया दिनुहोस्