खोटाङमा चार नेतृ प्रमुखको प्रतिस्पर्धामा

खोटाङमा चार स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाइएको छ।

समावेशिताको बखान गरे पनि जिल्लाका १० स्थानीय तहमध्ये चार स्थानीय तहमा चार महिलालाई प्रमुखको उम्मेदवार बनाइएको हो।

एमालेले दुई, कांग्रेसले एक र नेकपा माओवादी केन्द्रले एक महिलालाई पालिका प्रमुखको उम्मेदवारका रूपमा अघि सारेको छ। 

एमालेले खोटेहाङ गाउँपालिकामा कविता राई र बराहपोखरी गाउँपालिकामा गोमा मगरलाई प्रमुखको उम्मेदवार बनाएको हो। प्रमुखको उम्मेदवारमा सिफारिसमा परेका राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा विजयी भएकी थिइन्। यस्तै, अघिल्लो निर्वाचनबाट उपप्रमुखमा निर्वाचित भएकी मगरलाई यसपल्ट प्रमुखमा लड्ने अवसर मिलेको हो। 

यस्तै, हलेसी तवाचुङ नगरपालिकाको मेयरमा कांग्रेसबाट विमला राईको मनोनयन दर्ता भएको छ। यसअघि उपमेयरमा निर्वाचित भएकी उनलाई यसपल्ट पार्टीले मेयरको उम्मेदवारका रूपमा अघि सारेको हो। 

२०७४ सालको स्थानीय तहमा पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको माओवादी केन्द्रले यसपल्ट भने जन्तेढुंगा गाउँपालिकामा मात्र महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ। जन्तेढुंगामा गठबन्धनले माओवादी केन्द्रकी अरुणादेबी राईलाई प्रमुखको उम्मेदवारका रूपमा अघि सारेको हो। माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा पनि अरुणादेबीलाई प्रमुखको उम्मेदवार बनाएको थियो। 

१० स्थानीय तहमा कुल १ हजार ३३० जनाको मनोनयन दर्ता हुँदा ७९ महिला वडा सदस्यका लागि २३४ र ७९ दलित महिला सदस्यका लागि २२२ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: : 2022-04-28 06:18:00

प्रतिकृया दिनुहोस्