बुटवल उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेस बुटवल नगर सभापति समेत रहेका उनले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराएका हुन्।
मनोनयन दर्ता गर्नुअघि नगरप्रमुखका उम्मेदवार पाण्डेले आफु निर्वाचित भएपछि बुटवलको सडकलाई व्यवस्थित र ट्राफिक जामलाई कम गर्न बाइपास सडक बनाउने, उपमहानगरपालिकाका साना व्यवसायीहरूलाई समेत बोझ बनाइएको चर्को करलाई हटाउने आफ्नो मुख्य एजेण्डा रहेको बताए।
गठबन्धनभित्रकै एउटा दल जनता समाजवादी पार्टीले भने आइतबार नै मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दर्ता गराएको थियो।
त्यसैगरी बुटवल उपमहानगरपालिकाको उपमेयरमा भने नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन्। बुटवलमा नेकपा एसको भागमा उपमेयर परेको थियो।