दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनले उम्मेदवारी दिएको छ। गठबन्धनबाट घोराही उपमहानगरको प्रमुख पदमा हेमराज शर्मा (डायमण्ड) ले मनोनयन दर्ता गराएका छन्।
मनोनयन दर्ताको दोस्रो दिन सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका शर्माले प्रमुख पदमा र कांग्रेसका भुपबहादुर डाँगीले उपप्रमुख पदमा उम्मेदवारी दिएका हुन्।
उम्मेदवारी दिदै शर्माले घोराहीलाई स्वच्छ, सुन्दर र समृद्ध नगरको रुपमा बिकास गरिने बताए। उनले जनताको आवश्यकताका कुराहरु आफ्नो मुख्य एजेन्डा भएको बताए।
सत्ता गठबन्धनबाट घोराही उपमहानगरको मेयरमा माआवादी केन्द्र र उपप्रमुखको पद कांग्रेसको भागमा परेको थियो। उपप्रमुखमा उम्मेदवारी दिएका डाँगी घोराहीको प्रमुखमा आकांक्षी थिए।
मेयरमा उम्मेदवारी दिएका शर्मा को हुन्?
गठबन्धनका तर्फबाट घोराही उपमहानगरपालिका प्रमुखका उम्मेदवार बनेका शर्मा पार्टीभित्र वा बाहिर डायमण्ड उपनामले चिनिन्छन्। उनी माओवादीका केन्द्रीय सदस्य हुन्।
घोराही–१५ निवासी शर्मा ०४७ देखि विद्यार्थी राजनीतिक जीवन सुरु गर्दै ०५३ सालमा माओवादीले सुरु गरेको जनयुद्धमा पूर्णकालिन भएका थिए। परिवारमा उनी सहित २ दिदी र २ बहिनी पनि जनयुद्धमा सरिक भएका थिए। उनकी दिदी दामा शर्मा अहिले लुम्बिनी प्रदेश सभा सदस्य छिन्।
शान्त, शालिन स्वभावकमा शर्मा पाटीत्रिको समस्या समाधान गर्न र संगठन परिचालन गर्न सक्ने नेताका रुपमा चिनिन्छन्। युद्धकालिन समयमा उनी कम उमेरमै पार्टी जिल्लाको सचिवको जिम्मेवारी सम्हालेका थिए।
उनी जनयुद्धकालमा माओवादीले सञ्चालन गरेको जिल्ला जनसरकारका नीति, योजना र विकास योजनाकार समेत हुन्। शान्ति प्रकृयामा पछि पनि उनी कार्याकर्ता व्यवस्थापनमा अगुवाई भूमिका खेलेका थिए। उनी नेता कृष्णहादुर निकट मानिन्छन्।