यस्तो छ एमालेबाट पोखराको मेयरमा उम्मेदवारी दिएका थापाकाे राजनीतिक यात्रा

File Photo
File Photo

पोखरा महानगरपालिकाकाे मेयर पदमा नेकपा एमालेबाट कृष्णबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्।

थापाले सोमबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

२०४१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थापाले आफ्नो पुरै जीवन राजनीतिमै बिताएका छन्। २०५४ सालमा पोखरा उपमहानगरपालिकाको प्रमुख भएका थापा फेरि पोखरा हाँक्ने दौडमा जुटेका छन्।

थापाको जन्म २०१६ साल चैत १६ गते कास्कीको बाटुलेचौरमा भएको हो। उनको बुवा खिमबहादुर थापा र आमा सुकमाया गुरुङ थापा हुन्। श्रीमती डिकी छिरिङ थापा र छोरा प्रतिक थापा।

२०३५–०३६ सालको विद्यार्थी आन्दोलनबाट उनी राजनीतितर्फ तानिएका थिए। २०३७ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो। २०३९ देखि एक वर्ष चिकित्सा शास्त्र अध्ययन संस्थान, सुर्खेतको स्ववियु सह–सचिव भएका थिए।

२०४० मा अखिल नेपाल चिकित्सा सहायक संघको संस्थापक सचिव भएका थापा २०४१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियुमा सदस्य निर्वाचित भएका थिए। २०४१ साल २९ भदौमा तत्कालीन नेकपा (माले) बाट कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०४१ सालमा अनेरास्ववियु कास्कीको छैठौं जिल्ला कमिटीको अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष चुनिए।

२०४३ को जनपक्षीय चुनाव परिचालन कमिटीको संयोजकको जिम्मा उनले सम्हालेका थिए। थापा २०४३ मंसिरदेखि २०४६ पुससम्म जेल जीवन बिताए। तत्कालीन पञ्चायत राजकाज मुद्धामा पोखरा, दमौली र गोरखा गरी २९ महिना जेल जीवन बिताएका थिए।

उनी २०४६ सालको जन–आन्दोलनमा वाममोर्चा गण्डकीको सदस्य भए। २०४६ सालदेखि दुई वर्ष अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बने।

२०४९ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको सचिवालय सदस्य बनेका उनी २०५२ सालमा नेकपा एमालेको प्रथम नगर अधिवेशनबाट सचिव निर्वाचित भएका थिए। त्यसको दुई वर्षपछि भएको चुनावमा उनी तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर भए।

२०६५ सालमा नेकपा एमाले कास्कीको सचिव भएका थापा २०७० सालमा नवौं कास्की जिल्ला कमिटीको अधिवेशनबाट अध्यक्ष निर्वाचित भए। थापा २०५१ सालमा उपत्यका नगर विकासको अध्यक्ष, २०७१ मा राष्ट्रिय ताल समिति सदस्य भएका थिए। २०५५–०७३ सम्म नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय सदस्य भएका काम गरेका थिए।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा थापा कास्की २ (क)बाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतले हराएका थिए। थापाले १५ हजार ३२९ मत पाउँदा बरालले ८ हजार ३२५ मत ल्याएका थिए।

शिक्षामा स्नातक गरेका थापा स्वास्थ्यका पनि विद्यार्थी हुन्। थापाले चिकित्साशास्त्र विज्ञान संस्थान, सुर्खेतबाट सि.एम.ए (कम्युनिटी मेडिकल असिस्टेन्ट)पढाइ पुरा गरेका छन्।

प्रकाशित मिति: : 2022-04-25 14:43:00

प्रतिकृया दिनुहोस्