३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२ वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ।
यी दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सकिनेछ।
१३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने उनले बताएका छन्।
१५ वैशाखमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६ १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।
आयोगले मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचार संहिताले तोके बमोजिमको आचरण पालना गरिदिन अपिल गरेको छ।
‘यदि आचार संहिता विपरीत कार्य भए गरेको पाइएमा आयोगले कानून बमोजिम कारवाही हुने र यसबाट उम्मेदवारको उम्मेदवारी प्रक्रियामा नै गम्भीर असर पर्न सक्ने हुँदा समयमा नै सचेत रहन उम्मेदवार हुन चाहने सबै मतदातामा जानकारी गराइएको छ,’ आयोगले प्रेस नोटमा भनेको छ।
७५३ वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा छन्। मतदान केन्द्रमा प्रयोग हुने सामग्र पठाउने कार्य निरन्तर भइरहेको आयोगले जनाएको छ।