पुस्तक प्रदर्शनीमा नेपाल भाषाको कविता सङ्ग्रह ह्युपाया निंतिं विमोचित 

आरम्भ नेपालको आयोजनामा पुस्तक अध्ययन संस्कृतिलाई बढवा दिन भइरहेको तीनदिने पुस्तक प्रदर्शनीको दोस्रो दिनको पहिलो सेसनमा पुण्यराम कवांको नेपाल भाषाको कविता सङ्ग्रह ह्युपाया निंतिं (परिवर्तनका निम्ति) नामक पुस्तक विमोचन गरिएको छ। 

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले पुस्तक विमोचन गरेका हुन्।

कार्यक्रममा ज्याख्वले सामाजिक घटनाक्रम तथा शोषितपिडित वर्गको भावनालाई मिठासपूर्ण भाषाशैलीको प्रयोग गरी जनताको चेतनास्तर बढाउने साहित्यकार पुण्यराम कवांलाई शुभकामना दिए। 

त्यस्तै देशका ३७ प्रतिशत युवालाई उत्पादनमूलक कार्यमा लगाउन सरकारले प्रयास गर्नुभन्दा विदेश पलायन गराउने नीति अवलम्बन गरेको उनको आरोप छ।

कार्यक्रमका अतिथि नेपाल भाषा साहित्य तःमुञ्ज्याका अध्यक्ष आशकुमार चिकंबञ्जारले विमोचित कविता सङ्ग्रहमा कवि हराउन खोजेको तथा सरलता र गम्भीरता दिई प्रगतिशील जनताको साहित्यतिर ढल्केको बताए।

पुस्तकका रचयिता साहित्यकार पुण्यराम कवांले कविता सङ्ग्रहमा कोरिया युद्धकालमा अमेरिकी साम्राज्यवादले निम्तिएको संवेदनशीलता प्रस्तुत गरी त्यसमा भएका गीतमा स्वर संगीत दिने तथा प्रकाशन गर्न सहयोग र हौसला दिने साहित्यकारहरू प्रति धन्यवाद दिए। उनले २०५२ देखि २०५८ सम्मको कविताहरू सङ्ग्रह रहेको बताए।

प्रकाशित मिति: : 2022-04-05 18:35:00

प्रतिकृया दिनुहोस्