पोखरा महानगरमा मापदण्ड मिचेर बनेका संरचनामा महानगरको डोजर चलेको छ।
महानगरले वडा नम्बर १७ को विरौटा चोकदेखि तीनकुने चोकसम्म सडकको मापदण्ड मिचेर बनाइएका संरचना भत्काएको हो।
महानगरले सडकको मापदण्ड मिचेर बनेका फिस्टेल हाउजिङका ५ घरका पर्खाल, गेट भाडा र अफिस भत्काएको छ। यसैगरी मापदण्ड मिचेर बनेका १२ घर महानगरले भत्काई सकेको छ।
महानगरका सडक शाखा इन्जिनियर अनिल आचार्यका अनुसार आरटिओ सडक अन्तर्गत महानगरले २०७५/०७६ सालमा बिरौटा चोकदेखि तीनकुने चोकसम्म १ हजार ५० मिटर पक्की सडक बनाउन ठेक्का सम्झौता गरेको थियो।
कम्पनीले अहिलेसम्म ८ सय मिटर सडक निर्माण गरिसकेको छ। बाँकी २ सय ५० मिटर निर्माण गर्न संरचना भत्काउनेदेखि क्षतिपूर्ति दिनुपर्ने देखिएको इन्जिनियर आचार्यले सुनाए। महानगरले आइतबार नगर प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको सहयोगमा उक्त संरचना भत्काएको हो।