गण्डकी विश्वविद्यालयले इनोभेसन सेन्टर सन्चालन गर्ने भएको छ। राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेर उपकरण र औजार उत्पादनको तयारी थालेको हो।
यसका लागि आविष्कार केन्द्रसँग सम्झौता गरिसकेकाे छ। विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
केही समयभित्रै ६ थरीका औजार उत्पादन गर्न लागेको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका राजिष्ट्रार डा. कैलाश तिमिल्सीनाका अनुसार इनोभेसन सेन्टरको भवन निर्माण भैसकेको छ। ‘साढे दुई करोडका सामान ल्याइसक्यौं। धेरै औजार खरिद प्रक्रियामा छन्,’ उनले भने, ‘हाम्रो जोड आविष्कारमा हो। पढाईसँगै प्रविधिसँग हिडाउने विश्वविद्यालयको प्रयास छ।’ ७० वटा औजार खरिद प्रक्रियामा रहेको उनले बताए।
गण्डकी आफैले बिजुलीबाट बाल्ने चुलो, अलैंची सुकाउने उपकरण, हाइब्रिड ह्याचिङ मेसिन, धान झाँट्ने मेसिन, कोदो झार्ने र छुट्याउने मेसिन उत्पादन गर्न लागिएको छ।
प्रदेशको आवश्यकता अनुसारका उपकरण निर्माण गर्न लागिएको उनले बताए। गण्डकी विश्वविद्यालयले कोदोको रक्सी ब्राण्डिङ गर्ने तयारी साथ अनुसन्धान गरिरहेको छ।
अहिले विश्वविद्यालयबाट नेपालमै पहिलो पटक स्पोर्टस म्यानेजमेण्टसहित, फार्मेसी र आइटीको पढाई सुरु भएको छ। बीबीए र बीएएलएलबीको कार्यक्रम सुरु गर्न लागिएको कुलपति गुरुङले बताए। नेपालमै पहिलो पटक प्रदेश सरकारले विश्वविद्यालय सन्चालन गरेको हो। छिटै मेडिकल कलेज सन्चालनमा ल्याउन लागिएको गुरुङको भनाइ छ।