गत १ असारमा मर्स्याङदी नदीको बाढीले विद्यालय बगाएपछि मनाङको नासों गाउँपालिका-१ तालमा रहेको भानु माविका विद्यार्थी टेण्टमुनी बसेर पढ्नुपरेको छ।
कक्षा ९ मा अध्ययनरत प्रतिक गुरुङ पनि टेण्टमुनी बसेर पढ्न निकै गाह्रो हुने गरेको बताए। जाडोमा धेरै जाडो र गर्मीमा धेरै गर्मी हुँदा टेण्टमुनी पढ्न समस्या भइरहेकाे उनले बताए।
कक्षा १० मा पढ्ने माया गुरुङ पनि टण्टलापुर घाममा टेण्टमा बसेर पढ्न धेरै गाह्राे भएको बताउँछिन्। विद्यालयमा पढाउने वातावरण नभएकाले चौरमा टेण्ट राखेर पढाइ सञ्चालन गरेको भानु माविका प्रअ श्यामकृष्ण पन्तको भनाइ छ।
उनी भन्छन्, 'बाढीले विद्यालय भवन बगाएपछि अहिले बाल कक्षादेखि १० कक्षा सम्मका विद्यार्थीलाई अस्थायी टेण्टमा राखेर पठनपाठन गराउँदै आएका छौँ।' विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ। ताल गाउँको सिङ्गो बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा परेपछि विद्यालयमा पठनपाठन गर्ने ठाउँ नै नभएको प्रअ पन्तले बताए।
२०३२ सालमा स्थापना भएको विद्यालयको भवन नै बाढीपहिरोले बगाएपछि मनाङसहित लमजुङका विद्यार्थी शिक्षाबाट वञ्चित भएका छन्। मनाङमा रहेको चार माध्यमिक विद्यालयमध्ये तीन वटा विद्यालयमा बाढीले क्षति पुर्याएको छ। भानु माविसँगै नासों गाउँपालिका-६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति मावि र सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि पनि मर्स्याङदी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुर्याएकाे छ।
मनाङमा २६ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन्। मनाङमा ४ वटा मावि, ८ वटा आधारभुत र १५ वटा प्रावि छन्।
पठनपाठनमा प्रभावित भएको भन्दै गाउँपालिकाले अस्थायी टहरा निर्माण गर्न बजेट विनियोजन गरेको छ। नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले अस्थायी टहरा निर्माणका लागि १० लाख बजेट छुट्याएकाे बताए।