बानामा कस्ले मतदान गर्न पाउँने बिबाद, होला त बिबादरहित चुनाव ?

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अमेरिकाको बाल्टिमोरमा रहेको नेपालीहरूको संस्था बानाको निर्वाचन हुन २४ घण्टा कम समय रहेको बेला कस्ले मतदान गर्न पाउँने भन्ने विषय नै विवादमा परेको छ। यही विषयमा विधानमा भएको व्यवस्थाभन्दा भिन्न व्यवस्थाको पक्षमा उभिएको भनेर  निर्वाचन समितिका अध्यक्ष डा. कृष्ण ढकाल विवादमा मुछिएका  छन्।

विधानमा मतदाताका सम्बन्धमा भएको व्यवस्थाको एउटा बाध्यकारी प्रावधानलाई बेवास्ता गरेपछि उनी विवादमा तानिएका हुन्। उनले केही दिनअघि आयोजित उम्मेद्वार परिचय आदानप्रदान कार्यक्रममा विधानको धारा ९ को ४ मा The Voters must be residing in the State of Maryland भन्ने लेखिएको भए पनि यसलाई पूरै नजरअन्दाज गर्दै नाम मिलेको र मतदाता नामावली भएको व्यक्तिले अमेरिकाको त के, नेपालको परिचयपत्र भए पनि मतदान गर्न पाउँने बताएका थिए।

यसअघि अध्यक्षका एक उम्मेद्वार हिरा गुरूङले निर्वाचनको यो धाराअनुसार मात्र मतदान गर्न दिन गरिएको निवेदनलाई पनि उनले अस्विकार गरेका थिए।

अहिले यो विवाद निर्वाचन समितिमा पनि तानिएको छ। निर्वाचन समितिका केही सदस्यले धारा ९ को ४ अनुसारका मतदातालाई मात्र मतदान गर्न दिनुपर्ने धारणा राखेका छन्। यसो गर्दा विधानअनुसार वैधानिक मतदाताले मतदान गर्न पाउँने निर्वाचनमा नेतृत्व छान्न मेरिल्याणकै मतदाता निर्णायक हुने उनीहरूको तर्क छ। तर, अध्यक्ष डा. पौडेल भने यअघिको सनातनअनुसार मतदाता नामावलीमा नाम मिलेको कुनै पनि परिचयपत्र देखाए मतदान गर्न दिनुपर्ने पक्षमा रहेका छन्।

को को छन् निर्वाचन समितिमा ?
अध्यक्ष : डा. कृष्ण पौडेल
सदस्यहरू : ई: मंगल महर्जन,  किरण पन्थ, कमला भुसाल, कुल गुरूङ,  रामकृष्ण भट्टराई, इन्द्र  थापा

डा. पौडेल किन यस्तो अडानमा छन् त ?

बानाका एक पूर्वअध्यक्षले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘यसो गर्दा सुवोध विलास पन्तलाई फाइदा पुग्ने ब्रिफिङ उनलाई गरिएको होला। त्यसैले उनले त्यसो गरेका हुन्। निर्वाचन समितिको अध्यक्ष भएर पनि उनी खुलेरै पन्त प्यानलको पक्षमा मत मागिरहेका छन्। ‘

अध्यक्ष पौडेलको पृष्ठभूमीले पनि त्यही सत्यलाई उजागर गर्छ। तर, निर्वाचन समितिमा बसेपछि कसैले पनि आफ्नो पक्षधरता देखाउन पाइदैन। यही नै निर्वाचन समितिलाई लाग्ने पहिले आचारसंहिता हो।

मतदानमा विवाद भए के हुन्छ ?

मतदानको बुथमा दुबै पक्षका प्रतिनिधि बस्ने र उनीहरू सहमत भए मात्र मतदाता नामावलीमा नाम भएका मतदाताले मत हाल्न पाउँने हुन्छ। कोही मतदाताले मेरिल्णाण्डमा बसोबास गरिरहेको प्रमाण जुटाउन नसक्ने बितिकै त्यस्तो मतदातालाई एउटा पक्षले मतदानबाट रोक्न खोज्यो भने त्यतिबेला निर्वाचन समितिले निर्णय गर्नुपर्ने हुन्छ। त्यो निर्णय समितिले विधानको धाराअनुसार गर्नुपर्ने हुन्छ, विधानको धारा ९ को ४ मा प्रष्टसँग लेखिएकै छ, The Voters must be residing in the State of Maryland ।

योभन्दा फरक निर्णय आयो भने एक पक्षले नमान्न सक्छ, त्यस्तो अवस्थामा निर्वाचन हुनेभन्दा पनि नहुने सम्भावना हुन्छ। जबर्जस्ती गर्न खोजियो भने निर्वाचनको वैधता माथि नै प्रश्नचिन्ह लाग्छ।

अब के गर्ने?

बानाका अर्का एक पूर्वअध्यक्ष भन्छन्, ‘यस्तो अवस्थामा पहिलो त निर्वाचन समितिमा रहेका सबैले पक्षधरता पटक्कै देखाउनु भएन । दोस्रो, निर्वाचन सुरू हुनु अघि नै यस्तो अवस्था आयो भने के गर्ने भनेर दुबै पक्षका अध्यक्ष वा उनीहरूका प्रतिनिधि राखेर सहमति खोज्नुपर्छ।‘

सहमतिका बारेमा उनले भने, जस्ले मेरिल्याण्डमा बसिरहेको प्रमाण जुटाउन सक्छ, यसको मत निर्विवाद मतदान बक्समा खसाउनुपर्छ। जसले त्यसो गर्न सक्दैन, उसको मत नाम लेखेर भिन्ने मतदान बक्समा राख्नुपर्छ र उसलाई मेरिल्याण्डमा बसेको प्रमाण बुझाउन वा स्वेच्छाले आफ्नो मत फिर्ता लिने अवसर दिनुपर्छ। त्यस्तो मतको निर्णय गरेपछि मात्र मतगणना गरेर निर्णय सार्वजिक गर्नुपर्छ।‘

अब के गर्छ निर्वाचन समिति?

यतिबेला निर्वाचन समितिका अध्यक्ष तथा सदस्य कोही पनि सार्वजनिक टिप्पणी गर्न चाहिरहेका छैनन्। निर्वाचन आचारणसंहिता र मौन समय लागिसकेकाले प्रतिक्रिया दिन नसकिने उनीहरू बताइरहेका छन्। तर, एक निर्वाचन समिति सदस्यले नाम सार्वजनिक नगर्ने शर्तमा भने, 'निर्वाचन समितिमा पनि त्यस्तो अवस्था आए के गर्ने भन्ने शर्तमा अनौपचारिक रूपमा कुरा भैरहेको छ।' 

निर्वाचन सफलतापूर्वक सम्पन्न होला त ?

हिरा गुरूङ पक्ष मुख नखोले पनि मेरिल्याण्डमा स्थायी बसोबास गर्नेले नै मतदान गरून् भन्ने चाहन्छ भने सुवोध पन्त पक्ष मतदाता नामावालीमा भैसकेपछि सबैले मतदान गर्न पाउनुपर्ने धारणा राख्छन्। दुबै पक्ष आफूलाई जे गर्दा फाइदा हुन्छ, त्यही खालको सोच राख्छन्। तर, दुबै पक्षका जिम्मेवार व्यक्तिसँग औपचारिक धारणा माग्दा मौन समय लागिसकेकाले केही नभन्ने बताउँछन्।

दुबै पक्ष निर्वाचन होस् नै भन्ने चाहिरहेका छन्। दुबैलाई आफूले नै जित्ने दाबी गरिरहेका छन्। तर, जब हार्ने स्थिति थाहा पाउँछन्, तब हार्ने पक्ष मतदाताको यही प्रावधानलाई लिएर विवादमा नउत्रलान् भन्न सकिन्न।

यो पनि पढ्नुहोला 
बाना निर्वाचनको मत सर्भैक्षण गरिदैँ, आजै साँंझ परिणाम सार्वजनिक हुने
अमेरिकाको बाल्टिमोरका नेपालीलाई लाग्यो चुनाव : बानामा पन्त र गुरूङ प्यानलबीच तीब्र प्रतिस्पर्धा

प्रकाशित मिति: : 2022-04-03 01:13:00

प्रतिकृया दिनुहोस्