अमेरिकामा बाक्लो नेपाली डायस्पोरा रहेको बाल्टिमोरका नेपालीहरूलाई यतिबेला चुनाव लागेको छ। उनीहरूलाई अमेरिकाको जनरल इलेक्सन हैन, नेपाली समुदायको स्थानीय संस्था बाल्टिमोर एशोसियसन्स अफ नेप्लिज इन अमेरिका (बाना) को चुनाव लागेको हो। नयाँ नेतृत्व चयनका लागि यही आइतबार चुनाव हुँदैछ।
चुनावमा वर्तमान अध्यक्ष सुवोध बिलास पन्त र बरिष्ठ उपाध्यक्ष हिरा काजी गुरूङ प्यानल नै बनाएर चुनावमा होमिएका छन्। एउटै राजनीतिक पृष्ठभूमि रहेका उनीहरू नेकपा एमालेको अमेरिकास्थित शुभेच्छुक संस्था प्रवासी नेपाली एकता मञ्चमा आवद्ध छन् र बानामा पनि लामो समयदेखि सहकार्य गर्दै आएका हुन्। तर, यसपटक उनीहरू आम्नेसाम्ने हुँदा मेरिल्याण्डमा रहेका एमाले शुभेच्छुकहरू त बाँडिएका छन् नै, सम्पूर्ण बाल्टिमोरबासी पनि प्रतिष्ठाको लडाइँमा होमिएका छन्।
औपचारिक रूपमा घोषणा नगरिए पनि पन्त प्रवासी नेपाली एकता मञ्चको संस्थापन पक्षका उम्मेद्वार भएको बाल्टिमोरको नेपाली राजनीति बुझ्ने जो कोहीले पनि सजिलै अनुमान लगाउँछ। उनलाई जिताउन मञ्चका अध्यक्ष प्रभु थापा नै प्रत्यक्ष रूपमा लागेको उनको सामाजिक सञ्जाल गतिविधिले छर्लङ्गै पार्छ। उता, गुरूङलाई भने मञ्चकै वागी उम्मेद्वार भन्न्न सकिन्छ। उनले मञ्चका शुभेच्छुकहरूको मात्र हैन, अन्य पार्टीको विचार बोक्नेहरूको पनि मत पाउँने अपेक्षा गरेका छन्। पन्तको प्यानलमा अधिकांश पुरानै अनुहारहरू देखिन्छन् भने गुरूङको प्यानलमा नयाँ अनुहारहरूको वाहुल्यता रहेको छ।
दुबै प्यानलले आआफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। पन्तले बानाले गरेका सबै राम्रा कामहरू आफूले मात्र गरेको जस्तो गरेर त्यसको सबै जस आफूले लिन खोजेको देखिन्छ भने गुरूङ ती सबै काममा आफू पनि बरिष्ठ उपाध्यक्षका हैसियतले समान हकदार रहेको बताइरहेका छन्।
पन्तले आफूलाई कान्छो उम्मेद्वारका रूपमा प्रक्षेपण गरिरहेका छन् भने गुरूङले पन्त एक कार्यकाल अध्यक्ष भैसकेर पनि दोहोरिन चाहेकाले पदीय हिसाबले उनी आफूभन्दा बूढो भएको बताएका छन्। उनले दोहोरिएर अध्यक्ष हुन चाहने र नयाँलाई मौका दिन नचाहने मान्छे उमेरले कान्छो भए पनि सोचाइले कान्छो हुन नसक्ने दाबी गरेका छन्।
सुबोध विलास पन्त र हिरा काजी गुरूङ एउटै सिक्काका दुई पाटा हुन् । तर, अहिले पन्त मूल नेतृत्वमा रहेको र गुरूङ उनको मूल सहयोगीको रूपमा भएको अवस्था हो। निरन्तरता चाहनेका लागि पन्त छनौट हुन् भने परिवर्तन चाहनेका लागि गुरूङ। चुनाव निरन्तरता र परिवर्तनबीचको हो।
पन्तले कोरोना कहरका कारण काम गर्न नपाएकाले आफ्ना एजेण्डा पूरा गर्न यसपटक चुनाव लड्नुपरेको बताएका छन्। तर, गुरूङ यसलाई पदलोलुपताको वहानाबाजी भन्छन् । उनले समूहमा विश्वास नगर्ने सबै मैले मात्र गरेको भन्ने मै खाउँ मै लाउँ भन्ने व्यक्तिवादी सोचको पराकाष्ठा भएको बताउँदै यस्तो व्यक्तिवादी सोचले बानालाई हित नगर्ने पनि दाबी गरेका छन्। गुरूङले आफू जितेमा अर्को कार्यकालका लागि उम्मेद्वारी नदिने वाचासमेत गरेका छन्।
पन्तले आफ्नो समुहमा अधिकांश पुरानै उम्मेद्वार उठाएर अनुभवलाई महत्व दिएका छन् भने गुरूङले नयाँ अनुहारलाई ठाउँ दिएर परिवर्तनको पक्षमा आफूलाई उभ्याएका छन्।
पन्त र गुरूङ दुबैले आफ्नो प्यानल नै बढी समावेसी रहेको दावी गरेका छन्। तर, दुबै पक्षले बाल्टिमोरको नेपाली सुमदायमा रहेको जाति कार्डलाई आआफ्नो पक्षमा पार्न अप्रत्यक्ष रूपमा खेलेको जस्तो देखिन्छ। पन्त समूहको चुनावी रणनीति बनाउँनेहरू गैरजनजाति मतदाताकोमा गएर गुरूङलाई मत दिनु भनेको जनजातिलाई मत दिनु हो भनिरहेका छन् भने जनजातिमा गएर हामीले जातिय कुरा उठाउँनु हुदैन भनिरहेका छन्। तर, गुरूङले आफू जनजाति भएकाले आफूप्रति जनजातिहरूको सद्भाव रहनु स्वभाविक भए पनि आफूले विपक्षी समुहको जस्तो जातीय कार्ड नखेलेको दाबी गरेका छन्।
पन्तले आफूलाई बानाका सबै अग्रजहरूको साथ र सहयोग रहेको दाबी गरेका छन् भने गुरूङले मूल नेतृत्वमा परिवर्तन चाहने र सबैलाई समेटेर लैजान सक्ने क्षमताका कारण बानाका अग्रजहरूको आशिर्वाद आफूलाई रहेको दाबी गरेका छन्।
सुबोध चाहिनेभन्दा बढी बोल्छन्, हिरा चाँहिने जति पनि बोल्दैनन्। यी दुबै सही नेतृत्वका गुण हैनन्। संस्थालाई त अहिले ठिक्क बोल्ने र सबैलाई समेटेर काम गर्ने मान्छे चाहिएको छ। तर, दुर्भाग्य हामीसँग अहिले यी दुई मात्र विकल्प छन्। यिनैमध्येबाट एक छान्नुपर्ने अवस्था छ।
पन्त र गुरूङले देखाउने गरी जे जे दाबी गरे पनि आफ्नो जितका लागि सबैखाले रणनीति अपनाइरहेको जस्तो देखिन्छ। पन्तको पक्षमा नेकपा एमालेको शुभेच्छुक संस्था प्रवासी नेपाली एकता मञ्च नै रहेकाले उनको रणनीति अलि व्यवस्थित जस्तो देखिन्छ भने गुरूङ पक्ष पन्त समूहले गर्ने क्रियाको प्रतिक्रिया मात्र दिइरहेको जस्तो देखिन्छ। मञ्चको वागी भएकाले उनलाई कुनै संस्थाले संस्थागत रूपमा सघाइरहेको छैन।
पन्त र गुरूङले जे भने पनि उनीहरूको पृष्ठभूमीसहित नजिकबाट बुझेकाहरू भने अहिलेको संगीन अवस्थाबाट बानालाई पार लगाउन सक्ने क्षमता दुबैमा नभएको बताउँछन्। उनीहरू दुबै आफै लिड गर्नेभन्दा पनि अरूकै खटनपटनमा चल्ने क्षमता मात्र भएका मानिस हुन् भन्ने उनीहरूको बुझाइ छ।
कुनै समय बानामा महत्वपूर्ण योगदान गरेका एक सञ्चारकर्मी पन्त र दुबै एउटै सिक्काका दुई पाटा भएको बताउँछन्। तर, हिजोको अवस्थामा पन्त मूल नेतृत्वमा रहेकाले गुरूङ बीसमा १९ रहेको उनको बुझाइ छ। बानाका एक पूर्वअध्यक्ष भन्छन्, ‘सुबोध चाहिनेभन्दा बढी बोल्छन्, हिरा चाँहिने जति पनि बोल्दैनन्। यी दुबै सही नेतृत्वका गुण हैनन्। संस्थालाई त अहिले ठिक्क बोल्ने र सबैलाई समेटेर काम गर्ने मान्छे चाहिएको छ। तर, दुर्भाग्य हामीसँग अहिले यी दुई मात्र विकल्प छन्। यिनैमध्येबाट एक छान्नुपर्ने अवस्था छ।‘
अब प्रश्न छ, बानाका सदस्यले धेरै बोल्ने मान्छे छान्छन् कि चाहिने जति पनि नबोल्ने मान्छे जान्छन् ? मूल नेतृत्व दोहोर्याउँछन् कि नयाँलाई छानेर परिवर्तनको पक्षमा उभ्याउँछन्? त्यसको निर्णय भने अप्रिल ३ आइतबार नै हुनेछ ।
यो समाचार हो वा कुनै प्यानलका उमेदवारको ईन्डोर्समेण्ट हो , ठम्याउन गाह्रो भयो । यस्तै सदबुद्धि अनन्तकाल सम्म रहोस । पत्रकारको खोलमा कार्यकर्ताको बोली भन्दा कम छैन।