अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला व्यूरोका 'प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी' डिन थम्पसन नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित भएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले उनलाई प्रस्तावित गरेको ह्वाइट हाउसले जनाएको छ। अमेरिकी संसदको माथिल्लो सदन सिनेटले अनुमोदन गरेपछि मात्र उनी औपचारिक रूपमा नियुक्त हुनेछन्।
२५ वर्षभन्दा बढी अमेरिकी कूटनीतिज्ञका रूपमा काम गरिसकेका थम्पसनले यसअघि भारतको कोलकातामा अमेरिकी महावाणिज्यदूत र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासमा आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेका छन्।
थम्पसनले मलेसियाको क्वालम्पुर र रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावासमा 'डेपुटी चिफ अफ मिसन' का हैसियतमा काम गरिसकेका छन्।
अमेरिकी विदेश विभागमा काम गर्नुअघि उनले अमेरिकी प्रतिरक्षा मामिला विभागमा काम गरेका थिए।
विटेनबर्ग विश्वविद्यालयबाट स्नातक उत्तीर्ण थोम्पसनले मेरिल्याण्ड विश्वविद्यालयबाट सार्वजनिक व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। उनी नेसनल वार कलेजका 'राष्ट्रिय सुरक्षा रणनीति' मा स्नातकोत्तर पनि हुन्।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीलाई थम्पसनले प्रतिस्थापन गर्नेछन्। बेरी चार वर्षअघि नेपालका लागि अमेरिकाका राजदूत नियुक्त भएका थिए । उनले आफ्नो तीन वर्षे कार्यकालका अतिरिक्त अर्को एक वर्ष पनि नेपालमा बिताए।
सुरूमा बेरीकै 'अति आत्मविश्वास'का कारण गिजोल्टिएको एमसीसी अन्तिम समय आएर संसदबाट पारित भएको थियो।