हाेलीकाे महिमा

नेपाल कला र संस्कृतिले भरिएको देश हो। जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ। तीमध्ये होली पनि एक हो। जसले नेपाली संस्कृतिलाई झल्काउने गर्दछ। यसलाई फागु पूर्णिमाको रुपमा पनि लिने गरिएको पाईन्छ। होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाइन्छ।

होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो। यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो। होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू दलेर रङ्गिन बनाउछन्।

होली खेल्ने दिनभन्दा एकदिन पहिला राति होलीका दहन गरिन्छ। राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ। भनिन्छ, होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्।’ यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ।

होली पर्व घर परिवार साथी भाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ।

त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसँग होलीलाई जोडेर हेरिन्छ। हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आँफै आगोमा भष्म भएकी थिइन्। विष्णुको नरसिंह अवतारको वर्णनकाे उत्पत्ति मानिने हाेली प्रहलाद घटनाक्रमसँग सम्वन्धित छ।

नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउँछ भने पहेलो रंग भगवान श्री कृष्णको प्रिय रगं हो। शौभाग्यको सूचक रातो रगंको प्रयोग पनि आज व्यापक गरिन्छ।

शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछाँयामा होलीका गीतहरु गाउँदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ। आजको दिन नेपालमा सार्वजनिक बिदा दिइन्छ। उपत्यकालगायत अन्य ठाँउहरुमा आजै अर्थात् फागुन पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलिका दिन बिदा दिइन्छ।

धार्मिक मान्यताबाट अलग बनाएर केवल उत्साह अनि सदभावका रुपमा हेरेरै त होला नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका हुन्। होलीमा एउटै आँगन र तालमा झुम्मिन्छन्। बालबालिकाले पिच्कारी अनि स–साना बेलुनहरुका साथमा मज्जा लन्छन्। फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराईतिर बाँस काटेर त्यसका ढोडबाट बनाइएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टिकका बोतलबाट बनाइएका पिच्कारीहरु पनि हुन्छन्। वयस्कका लागि होली रंगहरु अनि भातृत्व र साहसको पर्व हो।

प्रकाशित मिति: : 2023-03-24 10:50:00

प्रतिकृया दिनुहोस्