गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा रहेका नेपालीलाई धैर्य गर्न आग्रह गरेको छ।
‘अझै पनि केही साथीहरु युक्रेनपट्टिको समस्याका कारण पोल्याण्ड प्रवेश गर्न सक्नुभएको छैन। हामीले उहाँहरुलाई सुरक्षित रुपमा पोल्याण्ड प्रवेश गराउने कोशिस जारी राखेका छौं,’ एनआरएनएका अध्यक्ष कुमार पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
युद्धका कारण युक्रेन छोडेर सीमावर्ती देश प्रवेश गर्ने नेपालीहरुको अवस्था बुझ्न पन्त अहिले युक्रेन र पोल्याण्डको सीमा–नाका मेडिकामा पुगेका छन्।
सीमामा कूटनीतिक सहजीकरण कसरी गर्न सकिन्छ भन्नेबारे जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्कासँग छलफल भइरहेको समेत उनले जनाएका छन्।
‘यस युद्धको कठिन घडीमा चाहँदाचाहँदै पनि कतिपय विषय भनेजसरी अघि बढ्न सकिरहेको छैन। हामीले प्रयास जारी राखेकाले केही समय धैर्य गर्न म युक्रेनपट्टि रहनुभएका साथीहरुलाई आग्रह गर्दछु,’ अध्यक्ष पन्तले भने।
सोमबार सिमानामा रहेका नेपालीमध्ये करिब ५० प्रतिशत लाई रेल र बस मार्फत गन्तव्यतर्फ पठाइएको उनले बताएका छन्।
‘अहिले मुख्य गरी युक्रेनी सीमा पार गर्न र पोल्याण्ड प्रवेश गरेकालाई अन्य सहरमा लगेर राख्न सहजीकरण आवश्यक परेकाले त्यस कार्यमा म सक्रिय रुपमा लागिरहेको छु। यहाँहरु सबैको रचनात्मक सहयोगको अपेक्षासहित समस्यामा रहनुभएकाहरुको सक्दो चाँडो उद्धार हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भनेका छन्।