रतुवामाईका मेयर भन्छन् ‘हाम्रो कार्यकालमा विकास भएको एकाथरीले देख्न चाहेनन्’

मोरङ रतुवामाई नगरपालिकाका मेयर रविन राईले विकास निमार्णका काममा लागिपर्दा उल्झन मात्रै आइपर्ने बताएका छन्।

नगरपालिकाको केन्द्र सिजुवा चौकमा यतिबेला धमाधम सडक विस्तार भैरहेको छ। 

दायाँबायाँ पक्की नालासहितको सडक निर्माण भइरहँदा आफ्नो जग्गा मिचिएको भन्दै केही स्थानीयले चर्को असन्तुष्टि जनाइ अदालतमा मुद्दा हालेपछि राईले विकास विरोधी तत्वहरु सल्बलाएको बताएका हुन्। 
मेयर  राईले जिल्ला अदालत मोरङको आदेशलाई उल्लङ्घन गरी सडक विस्तार गर्ने नाममा स्थानीयवासीलाई मर्कामा पारेको भन्दै केही अनलाइनमा समाचार आएका थिए। 

सडक विस्तार गर्दा दुबैतर्फ बराबरी जग्गा लिनु पर्नेमा दक्षिणतर्फमात्र एकतर्फी रुपले नाला निर्माण गरी ग्राभेल भर्ने काम गरिरहेको समाचारमा उल्लेख थियो। 

सडकसंग जोडिएका तीनजना स्थानीयले आफ्नो नम्बरी जग्गा आवश्यकता भन्दा बढी अतिक्रमणमा परेको भन्दै मोरङ जिल्ला अदालतमा निवेदन दिएका थिए। 

अदालतले गत २०७७ चैत्त २७ गते सम्बन्धित व्यक्तिको जग्गा पर्ने गरी कुनैपनि निर्माण कार्य नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो। तर, अदालतबाट खटी आएको डोरले जाहेरीवालाले उल्लेख गरेजस्तो अतिक्रमण नभएको ठहर गरेको छ। 

नगरपालिकाले ऐन कानुन, नियम र अदालतको आदेशलाई समेत सम्मान गर्दै सडक युद्धस्तरमा निर्माण गरिरहेको मेयर राइले जानकारी दिए।
 
 

प्रकाशित मिति: : 2022-02-25 21:57:00

प्रतिकृया दिनुहोस्