विमानस्थल घटनाको छानबिन गर्न समिति गठन

File photo
File photo

गृहमन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ।

गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेको घटना सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताए। 

सो सम्बन्धमा विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपायका सम्बन्धमा अध्ययन गर्न अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए। 

उक्त समितिले सात दिनभित्र प्रतिवेदन पेश गरिसक्नुपर्नेछ। यही फागुन ९ गते एक व्यक्ति पासपोर्ट र भिसा बिना नै जहाजसम्म पुगेका थिए। 

प्रकाशित मिति: : 2022-02-25 14:53:00

प्रतिकृया दिनुहोस्