अमेरिकी सहयोग परियाेजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) सम्झौता कार्यान्वयनकाे विषयले अहिने राजनीतिक दलहरू मात्रै हाेइन, नेपाली समाजनै विभाजित छ।
कतिले यसका विषयमा सकारात्मक प्रतिक्रिया जनाइरहँदा कतिले भने कार्यान्वयन गर्न नहुने भन्दै दिनहुँ जसो प्रदर्शन गरिरहेका छन। एमसीसी सम्झौता संसदमा टेबल भएको विरोधमा बिहीबार पनि काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन भएको छ। प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अघि बढ्न खोज्दा झडप समेत भएको छ।
एमसीसी अनुमोदन भए देशको राष्ट्रियता, संप्रभुता र स्वाधिनतामाथि नै आँच आउने भन्दै विभिन्न राजनीतक दल र अभियन्ताले प्रदर्शन गरेका छन। बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेकपा लगायतका वामपन्थी दल प्रदर्शनमा सहभागी भएका थिए।सत्ताधारी दलकै भातृसंगठन समेत विरोध प्रदर्शनमा उत्रिएका थिए। नेकपा माओवादी निकट वाइसिएल र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववीयुले यथास्थितमा एमसीसी अनुमोदन गर्न नहुँने भन्दै प्रदर्शन गरे।
निषेधित क्षेत्रमा प्रदर्शनकारीले आन्दोलन थालेसँगै प्रहरीले धरपकड गरेको थियो। भने, सो क्रममा झडप समेत भएको थियो। झडपका क्रममा प्रदर्शनकारीहरुले प्रहरीलाई ढुंगा, इँट्टा, सिसाका गिलास, पानीका बोतल, प्रहार गरेका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज, पानीका फोहरा र अश्रुग्यासको प्रयोग गरेको थियो।
आन्दोलनका नाममा उत्श्रृखल गतिविधि गरेको भन्दै १२ जना भन्दा बढीलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। प्रदर्शनका कारण काठमाडौंको नयाँ बोश्वर–माइतीघर सडक खण्ड पूर्णरुपमा प्रभाविवत बनेको थियो।
विहान ११ बजेदेखि अवरुद्ध सडक साझँ ४ बजेपछि मात्रै सुचारु भएको थियो। एमसीसी सम्झौता संसदमा टेबल भएसँगै काठमाडौंमा दिनहुँ प्रदर्शन भइरहेको छ। बिहीबार स्थगीत भएको संसद बैठक शुक्रबारका लागि बोलाइएको छ। शुक्रबार पनि प्रदर्शन हुनसक्ने भन्दै प्रहरीले काठमडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ।