कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान- ४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ।
दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक नगरपालिका- ५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।
दमक नगरपालिका- ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार सिग्देलले दकम- ५ बाट राहदानी बनाएको र इलामको चुलाचुलीबाट नागरिकताको प्रमाणपत्र बनाएको खुलेको छ।
प्रहरीले खोजी गरे पनि दमकमा उनलाई चिन्ने मान्छे नभएको वडाध्यक्ष गुरुङले जानकारी दिए। प्रहरीका अनुसार उनी दाजुको घरमा गएका र पारिवारिक कारणले हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ।
चाँडै घटनामा संलग्न व्यक्ति सार्वजनिक गरिने निरीक्षक थापाले जानकारी दिए। गएको बुधबार र बिहीबार धरान ४ को आपगाछी क्षेत्रको जङ्गलमा दुई वटा झोलामा हाट खुट्टा, टाउको र शरीरको टुक्राटुक्रा अवस्थामा शव भेटिएको थियो।
शव पहिचानका लागि प्रहरीले स्केच तस्बिर बनाएर सार्वजनिक गरेको थियो। उक्त घटनामा सङ्घीय प्रहरी इकाई र इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।