देशलाई समृद्ध बनाउन अनुसन्धान र विकासलाई उच्च प्राथमिकता दिनुपर्छ: महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले नेपालमा अनुसन्धान र विकासलाई उच्च प्राथमिकता दिएर देशलाई समृद्ध बनाउनुपर्ने बताएका छन्। 

७२ औं प्रजातन्त्र दिवसको अवसरमा उनले शुभकाना सन्देश दिँदै उनले देशलाई समृद्ध बनाउने एक दुर्लभ प्रधानमन्त्रीको कामना समेत गरेका छन्।

बाल्यकालको बेला केटाकेटीसहित गाउँका बुढापाका, तरुनी–तन्नेरीहरूले चिनि घोलेको कालो चिया आफ्नो गाउँ नाँगीको ठूलो चौरमा लागेर खाएको सम्झदै उनले भने, 'त्यो दिन केटाकेटीहरूको लागी अतिनै खुसीको दिन थियो। मेरो बाल्यकालमा फाल्गुन ७ विशेष हुन्थ्यो, त्यो दिन गुलियो चिया खान पाइने दिन थियो।'

२००७ मा राणा शाषनको अन्त्यपछि अहिलेसम्म नेपालले राणाबाहेक २२ जना सर्वसाधारण नागरिकहरु प्रधानमन्त्री भैसकेका छन्। ती २२ जना मध्ये तीन जना व्यक्ति पाँच पटकसम्म प्रधानमन्त्री भक्ष्सकेका छन्। 

राणा शासन अन्त्यपछि ७१ वर्षमा देशमा धेरै परिवर्तन भएकाृ र धेरै क्षेत्रमा नेपालले फड्को मारेमा उनले खुसी व्यक्त गरे। 

तर प्रधानमन्त्रीहरुले अनुसन्धान तथा विकास, नवप्रबर्तन र आविष्कार गर्ने संस्कार नबसालेकोमा उनी दुख व्यक्त गर्छन्।  

'प्रतिभाशाली र सृजनशील नेपाली सन्ततीहरुलाई हौसला र सहयोग दिने काम पटक्कै गरेनन्। हरेक प्रधानमन्त्रीको शासन कालमा बनेका अर्थ मन्त्रीहरू, योजना आयोगका उपाध्यक्षहरु, अर्थशास्त्रीहरू, मन्त्रालयका सचिबहरु र योजनाबिदहरु कसैले पनि अनुसन्धान तथा विकास, नबप्रबर्तन र आविष्कारलाई पटक्कै प्राथमिकता दिएनन्' उनले भने।

जसकारण नेपालको अर्थतन्त्र  नसुध्रिएको र जनताले दुख भोग्नु परेको उनको गुनासो छ।

'विदेशीको सहयोगबिना कुनै पनि ठू-ठूला योजनाहरु सुरुवात गर्नै नसक्ने अवस्थामा हामी पुगेका छौ'  उनले भने। 

नेपाल गरीब हुनुको प्रमुख कारण उनले अहिलेसम्म नेपालमा अनुसन्धान तथा विकास र नवप्रवर्तनलाई उच्च प्राथमिकता नदिनु र अडिग प्रधानमन्त्री नहुनु बताए। 

देशमा राजनैतिक झगडा, लुटतन्त्र र अस्थिरता मौलाइरहने हो भने   देशको अस्तित्व हराएर जाने उनको भनाई छ। 

उनले भने, 'नेपालको अस्तित्व हरायो भने पनि काठमाडौं यही नै हुनेछ, सगरमाथा र हिमालहरु यहि नै हुनेछन्। पशुपतिनाथ, मुक्तिनाथ, स्वयम्भुनाथ, पाथिभरा, देवघाट जस्ता तिर्थस्थलहरु यही नै हुनेछन्। अनि चितवन, बर्दिया, रारा, खप्तड जस्ता राष्ट्रिय निकुन्जहरु यही नै हुनेछन । साथै गौतम बुद्ध जन्मेको ठाउँ लुम्बिनी पनि यही नै हुनेछ। तर सगरमाथासहित हिमालहरु, गण्डकी, कोशी, कर्णाली जस्ता नदीनालाहरु, पशुपतिनाथ जस्ता तिर्थस्थलहरु, चितवन जस्ता राष्ट्रिय निकुन्जहरुसहित गौतम बुद्ध पनि नेपालको रहने छैनन्। त सबै नेपाललाई हडप्ने देशको कब्जामा जानेछ । देशको नाम नै अर्को भएपछि झण्डा पनि त बदलिन्छ नी।'

आफ्नो देशलाई बचाउन नेपालीहरुले ईष्ट देवता र भगवानलाई प्रार्थना गनुपर्ने उनी बताउँछन्।

उनले भावुक हुँदै सन्देशमा भनेका छन्, 'देशको अस्तित्व नै मेट्टिनु जत्तिको दुःख अत्यन्तै पीडादायक अनुभव जिन्दगीमा अर्को हुनै सक्दैन।'

प्रकाशित मिति: : 2022-02-19 21:34:00

प्रतिकृया दिनुहोस्