दाङमा फेरि अर्को दुखद घटना घटेको छ।
बुधबार (हिजो) छोरोले बुवालाई चक्कुले घाँटी रेटेर हत्या गरेको घटना सेलाउन नपाउँदै बुहारीले सासुको हत्या गरेको घटना सार्वजनिक भएको छ।
घोराही उपमहानगरपालिका-१९ स्थिति खानी गाउँमा आफ्नै बुहारीले सासुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए।
उक्त घटना पनि बुधबार नै घटेको हो। तर मृतकको शव आज (बिहीबार) फेला परेपछि घटना बाहिर आएको हो।
खानी गाउँ बस्ने २३ वर्षीया बसन्ती घर्तीले ५५ वर्षीया सासु ईन्द्रकुमारी घर्तीलाई छिमेकीको घरमा न्वरान खान गएको समयमा मुङ्ग्रोले टाउकोमा हानेर हत्या गरेकी हुन्।
पहिले बुहारी बसन्तीले सासुलाई मुङ्ग्रोले टाउकोमा हानेर बेहोस बनाएको र पछि छिमेकी २२ वर्षीया दुर्गा घर्तीको सहयोगमा ५५ वर्षीया ईन्द्रकुमारीलाई ढिकबाट खोल्सामा खसालेर दुई जना मिली हत्या गरेको प्रहरी नायव उपरीक्षक रिजाले बताए।
उनले भने, 'बुधबार छिमेकीको घरमा न्वारान खान गएको समयमा बुहारीले मुङ्ग्रोले होनेर बेहोस भएकी ईन्द्रकुमारीलाई बुहारी बसन्ती र छिमेकी दुर्गा मिली ढिकबाट खसाली हत्या गरेको खुल्न आएको छ।'
रिजालका अनुसार शव आज विहान घर नजिकै खोल्सामा करिब ८ बजे स्थानीयले रक्ताम्य अवस्थामा शव फेला परेका थिए।
शव फेला परेको खबरपछि जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक झबिन्द्र परियारको कमाण्डमा गएको टोलीले हत्या आरोपमा मृतककी बुहारी बसन्ती र छिमेकी दुर्गालाई पक्राउ गरेको छ।
प्रारम्भिक अनुसन्धानमा उनीहरुले हत्या गरेको नै खुल्न आएको छ। प्रहरी निरीक्षक रिजालका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।
बुधबार (हिजो) नै दाङकै शान्तिनगर गाउँपालिका ३ स्थित चिराघाट बेलडाँडा बस्ने ६३ कर्षका कर्ण बहादुर मगरलाई आफ्नै कान्छो छोरा १९ वर्षीय गोपाल मगरले चक्कुले घाँटी रेटेर हत्या गरेका थिए।