कहाँ छन् प्रत्येक वर्ष हराएका २ हजारभन्दा बढी मानिस ?

Breaknlinks
Breaknlinks

हराएका बालबालिका तथा महिलाकाे खोजी गर्न नेपाल प्रहरीको छुटै सेल छ। त्यसो त मानिस हराएको उजुरी परेपछि प्रहरीको सबै युनिटले खोजी गर्छ। टेलिभिजनदेखि पत्रपत्रिकामा समेत मानिसको फोटो राखेर खोजी हुन्छ। 

नेपाल प्रहरीको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष हराएकामध्ये आधा मात्र मानिस भेटिन्छन्। बाँकी कहाँ जान्छन् पत्ताे हुँदैन। महिला बालबालिकादेखि जेष्ठ नागरिक समेत हराएका छन्। हराएका केही महिला तथा बालबालिका भारतमा भएको समेत देखिन्छ।

चालु आर्थिक वर्षको ५ महिनामा देशभर ५ हजार ७ सय २४ जना मानिस हराएका छन्। जसमा १ हजार ३ सय ११ जना पुरुष र २ हजार ९ सय ९८ जना महिला छन्। हराउने बालकको संख्या ३ सय २९, बालिका १ हजार २१ र बाँकी जेष्ठ नागरिक रहेका छन्। यसबीच भेटिनेको संख्या २ हजार ३ सय ४ देखिन्छ, अर्थात् हराएकामध्ये भेटिनेको संख्या आधाभन्दा न्यून छ।

आर्थिक वर्ष २०७४/७५ मा ८ हजार २ सय ७७ जना मानिस हराउँदा २ हजार १ सय ९४ जना मात्र फेला परेका छन्। त्यस वर्ष १ हजार ६ सय ८६ पुरुष हराएका छन् भने ४ हजार २ सय ६१ जना महिला रहेका छन्। हराउने बालक ९ सय २३ र १ हजार ४ सय ७ बालिका छन्। भेटिने संख्यामा पुरुष ३ सय ७२ र महिला ८ सय ५ जना छन्। भेटिएका बालकको संख्या ४ सय ७ र बालिका ६ सय १० जना रहेका तथ्याङ्कमा उल्लेख छ।

आर्थिक वर्ष २०७५/७६ मा ११ हजार ६ सय ८२ जना मानिस हराएका थिए। जसमा बालक १ हजार ५१, बालिका २ हजार ३ सय ७१ रहेका छन्। जुन हराएका मानिसको तुलनामा ३० प्रतिशत हो। यसरी हराएका मानिसमध्ये ४ हजार ६ सय ३४ जना अझै भेटिएका छैनन्। अर्थात् झन्डै ६० प्रतिशत मानिस अझै बेपत्ता छन्। ८ सय २५ जना बालक र १ हजार ७ सय १५ जना बालिका भेटिए। यसरी भेटिनेमा सबैभन्दा धेरै बालबालिका नै छन्। भेटिएकामध्ये ५० प्रतिशत बालबालिका रहेको देखिन्छ।

आर्थिक वर्ष २०७६/७७ मा ८ हजार ६ सय ९८ जना मानिस हराएका छन्। जसमा बालिका १ हजार ८ सय ९८ र बालक ८ सय ३१ जना रहेकाे देखिन्छ। तथ्यांकअनुसार हराउने बालबालिका ३१ प्रतिशत छन्। हराएकामध्ये फेला पर्नेको संख्या ४ हजार ३ सय ९७ रहेको छन्। फेला पर्ने बालकको संख्या ६ सय ९० र बालिका १ हजार ५ सय २९ छन्। त्यस वर्ष पनि भेटिनेमा बालबालिकाको संख्या आधाभन्दा धेरै हो।

आर्थिक वर्ष २०७७/७८ मा ११ हजार २ सय ९३ जना मानिस हराएका छन्। जसमा बालक ८ सय ४९ र बालिका २ हजार ८ सय ९ रहेकाे तथ्याङ्कमा उल्लेख छ। यस वर्ष पनि फेला पर्ने मानिसको संख्या आधाभन्दा कम नै छ। ५ हजार ९५ जना मानिस फेला परेका छन्। जसमा सबैभन्दा धेरै बालबालिका नै भेटिएको देखिएको छ। ७ सय १२ जना बालक र १ हजार १ सय ६४ जना बालिका फेला परेका छन्।

प्रकाशित मिति: : 2022-02-22 08:32:00

प्रतिकृया दिनुहोस्