नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको नेकपा एमाले परित्यागको घोषणा गरेका छन्। बुधबार चौतारामा पत्रकार सम्मेलन गरेर एमाले परित्यागको घोषणा गरेका हुन्।
लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको नवौं महाधिवेशनबाट रुष्ट बनेका थिए। जिल्ला अध्यक्षको दाबी गरेको भए पनि स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नेतृत्वको अध्यक्षमण्डलसँग असन्तुष्ट बनेपछि पार्टी परित्यागको घोषणा गरेका हुन्।
यसअघि माधव नेपाल खेमामा रहेका क्षेत्री पार्टी विभाजनको बेलामा १० बुँदे सहमतिको आधारमा एमालेमै बसेका थिए। उनले हालै सम्पन्न भएको जिल्ला महाधिवेशनपछि केन्द्रीय सदस्य शरेस नेपालले अपमान गरेको आरोप लगाएका छन्।
उनले एमाले छाडेपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जाने आकलन गरिएको छ। यसअघि पूर्वसांसद सुवास कर्माचार्यसहित सयौं नेता कार्यकर्ताले एमाले छाडेर समाजवादीमा प्रवेश गरेका थिए। तर, उनले पार्टी परित्याग गर्दा कुन पार्टीमा जाने खुलाएका छैनन्।