एनआरएनए जापानको निर्वाचनमा भएको धाँधलीबारे जाँचबुझ गरी समस्या समाधान गर्न शेष घलेको नेतृत्वमा बनेको उच्चस्तरीय समितिले जुलाई ३० को निर्वाचनबाट आएको कार्य समितिलाई रद्द गरेको छ।
समितिले निर्वाचनमा धाँधली भएको पुष्टि गर्दै त्यसरी आएको कार्य समितिलाई रद्द गरेको हो। त्यसैगरी समितिले अनिता गुरुङ समूहको कार्य समितिलाई पनि विघटन गर्दै उच्चस्तरीय समितिले जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गको नेतृत्वमा नयाँ तर्दथ समिति गठन गठन गर्न निर्देशन दिएको छ।
जापान विवाद मिलाउन र समस्या सुल्झाउन शेष घलेको नेतृत्वमा अधिकार सम्पन्न उच्चस्तरीय समिति गठन गरिएको थियो।
समितिको अध्यन र अनुसन्धानपछि आजैको मितिबाट लागु हुनेगरी गुरुङ र शिव पौडेलको समूहलाई विघटन गर्दै नयाँ प्रक्रियामा जान निर्देशन दिएकाे हो।
जापान निर्वाचनमा भएको धाँधली र इमेल ह्याक प्रकरणको मुद्धा अहिले प्रहरीमा पुगेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले उक्त मुद्धाको अनुसन्धान जारी राखेको छ।
कसरी गरियो जापानको चुनावमा धाँधली?
गैरआवासीय नेपाली संघ जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समीक्षा समिति गठन गरिएको थियो।समितिद्वारा प्रकाशित २९२ पृष्ठ लामो प्रतिवेदनमा एनआरएनए जापानको सदस्यता नरहेकाहरुद्वारा ६० वटा ग्रुप मेल तयार गरी २ हजार ९ सय ४ मत अनधिकृत रूपमा मतदान प्रक्रियामा राखिएको तथ्य भेटिएको उल्लेख गरेको छ।
सिस्टम लगअनुसार १ हजार ७१३ सदस्यहरुको जानकारी विना नै इमेल परिवर्तन गरिएको प्रतिवेदनमा उल्लेख छ।
कुल ७ हजार ७ सय ५७ मत खसेकोमा ग्रुप मेलबाट २ हजार ९०४ र सिंगल इमेल दर्ता भएकाबाट ४ हजार ८५३ मत खसेको पाइएको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बताइएको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार ६० वटा ग्रुप मेलबाट २ वटादेखि ४९६ सम्म मत राखिएको छ। निष्पक्ष निर्वाचन र मतदाताको मताधिकार विपरीत ६० वटा ग्रुपमेल बनाई निर्वाचनको परिणामलाई प्रभावित पारेको स्पष्ट हुने र यसरी तयार पारिएका मेलबाट २ हजार ९७० मतदाताको सदस्यता बनाइएको, त्यसमध्ये ९८ प्रतिशत मतदान गरिएको पाइएको संयोजक प्रधानाङ्गले बताए।
अनुसन्धानको दायरामा को-को ?
सूचना प्रविधिको दुरुपयोग गर्दै आफ्नो अधिकार खोसिएकोप्रति चिन्तित पीडितहरुले दिएको उजुरीपछि प्रहरीले अध्यक्ष कुमार पन्तसहित पाँच जनालाई बयानको लागि बोलाएको छ।
ब्यूरोले उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, सचिव गौरीराज जोशी, आइटी प्रमुख महेश श्रेष्ठ, एमआइएस निर्माणको जिम्मा लिएको इन्फिकेयर प्रालिका कर्मचारीलाई बयानका लागि बोलाएको बताइएको छ।
एनआरएनए सचिवालय बालुवाटार स्रोतकाअनुसार पन्त, केसी, शर्मा, श्रेष्ठलगायत प्रहरीले बोलाएकाहरु प्रहरीबाट जोगिन कामको बहाना बनाएर विदेशीएका हुन्। उनीहरुले आफ्नो नाममा अरुलाई वारेसनामा दिएर विदेशमा रहेका छन्।