दाङमा लखन स्मृती खुला फुटबल प्रतियोगिता शुरु

दाङमा नेपालका प्रथम शहिद लखन थापा मगरको १४५औँ स्मृति दिवसका अवसरमा खुला फुटबल प्रतियोगिता शुरु भएको छ।

नेपाल  मगर संघ दाङ, घोराही उपमहानगरपालिकाको आयोजनामा सोमबारबाट प्रतियोगिता शुरु भएको हो। प्रतियोगिता फागुन १५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको शुरु गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगरले सरकारले शहिदको सम्मान गर्न नसकेको आरोप लगाए।

उनले प्रथम शहिद लखन थापा मगरको सम्झनामा सरकारले कुनै कार्यक्रम नगरेको भन्दै यसले शहिद थापाको अपमान भएको बताए।

‘नेपालका प्रथम

शहिद लखन थापा मगरलाई मगर संघले मात्र सम्झने होइन। सरकारले सम्झन सक्नुपथ्यो,’ केन्द्रीय अध्यक्ष रोका मगरले भने, ‘तर सम्झन सकेको छैन। यसले शहिदको अपमान भएको छ।’

जनताको न्याय र मुक्तिका लागि राणा शासनविरुद्ध लाग्दा थापाले आफ्नो ज्यानकै वलिदानी दिएकाले उनलाई मगर समुदायले मात्र नभई सम्पूर्ण नेपालीको शहिदका रुपमा सम्मान गर्नुपर्ने रोका मगरको भनाई थियो।

प्रथम सहिद थापाको जीवनी पाठ्यक्रममा समावेश गर्नुपर्ने, राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने, फागुन २ लाई शहिद सप्ताह भित्र पार्नु पर्नेतर्फ सरकारको ध्यान जानआवश्यक रहेको उनले बताए।

रोका मगरले सरकारले लखन थापालाई प्रथम शहिद मगर संघको दबाबमा मान्दिएको जस्तो गरेको भन्दै सम्मान गर्ने शहिद को हो भन्दै ईतिहासले खोजेको प्रथम सहिद घोषणा गर्न पनि चुनौती दिए।

‘नेपाल मगर संघको दबाबले थापालाई प्रथम शहिद घोषणा गरिएको हो भने सरकारले घोषणा गरोस नेपालको ईतिहासले खोजेको प्रथम शहिद को हो रु,’ उनले भने,  ‘नत्र सरकारले थापको स्मृतिमा सरकारले कार्यक्रम गर्नुपर्छ । थापालाई सम्मान गर्न सक्नुपर्छ।’

केन्द्रीय अध्यक्ष रोका मगरले सरकारी कार्यालयमा प्रथम शहिदको सम्मान स्वरुप लखन थापा मगरको फोटो नराखिएकोमा पनि आपत्ति प्रकट गरे।

‘मगरसंघले नेपाल सरकारको हरेक मन्त्रालयहरुमा तथा सरकारी निकायमा प्रथम शहिको सम्मान स्वरुप फोटो राख्न आग्रह गर्दै एक/एक वटा फोटो वितरण गरेर हैरान भएका छौँ,’ उनले भने, ‘तर फोटोसमेत राखिएको छैन।’

मगरहरु कहिल्यै पनि आफ्ना लागि मात्र नलडेको भन्दै आफूसहित सिंगो नेपालीको मुक्तिको लागि मगरहरुले नेपालको हरेक आन्दोलनमा रगत बगाएको उनको भनाई थियो।

लखन स्मृती फुटबल प्रतियोगिताको विजेता क्लबले नगद रु १ लाख, प्रमाण पत्र र मेडल पाउने छ भने उपविजेता क्लवले नगद रु ५० हजारसहित मेडल र प्रमाण पत्र पाउने छ।

यस्तै यस वर्षबाट प्रतियोगिताको अन्तिम चारमा पुगेका दुई क्लबलाई पनि सान्त्वना स्वरुप नगद साढे १२ हजारका दरले रकम पाउने आयोजकले जनाएको छ।

दाङमा २०५७ सालदेखि संचालन हुँदै आएको प्रतियोगिता सशस्त्र द्वन्द्वका समयमा केही वर्ष स्थगित भएको थियो। गत वर्ष तुलसीपुर नगर कमिटीले संचालन गरेको प्रतियोगितामा घोराहीको युएनबीसी क्लब  विजयी भएको थियो।

प्रकाशित मिति: : 2022-02-14 21:16:00

प्रतिकृया दिनुहोस्