नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको यात्रुवाहक बसमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बुड्डी आगलागी भएर पूर्ण रूपमा क्षति पुगेको छ।
भे१ख २९५६ नम्बरको बसमा आइतबार साँझ अन्दाजी ७ बजे आगो लागेको थियो। बसको विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।
आगो सल्किएको थाहा भएपछि यात्रुहरू सामान निकालेर बाहिर निस्किएका थिए। बसको डिक्कीमा रहेको सामान भने निकाल्न नसकेको एक यात्रुले बताए।
बसमा १४ यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लीलामणि आचार्यले बताए। बसको लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो। आगो निभाउन शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी खटिएका थिए।