बेरोजगार छन्, डिग्री सकेका दृष्टिविहीन

झापा गाउँपालिका– ६ शरणामतीका दृष्टिविहीन महेन्द्र कुमार श्रेष्ठलाई मुलुकमा भएको परिवर्तनबारे खासै अनुभूति छैन। शिक्षित भएर पनि बेरोजगार बन्नु पर्दा उनले परिवर्तनको महसुस गर्न नसेकेको प्रतिक्रिया दिएका छन्।

कनकाई बहुमुखी क्याम्पस सुरुङाबाट ०७४ सालमा नेपाली विषयमा स्नातकोत्तर (डिग्री) गरेका श्रेष्ठको दैनिकी घरमै वितिरहेको छ। शारिरीक रुपमा अपांगता भएर पनि उनले ४ वर्षअघि डिग्री सकेका छन्। श्रेष्ठले सरकारी र निजी विद्यालयको पाठ्यपुस्तकको तुलनात्मक अध्ययनमा थेसिस बुझाएका थिए। तर, डिग्री सकेर उनले रोजगार पाउन सकेका छैनन्।

माध्यमिक तहसम्म लालपानी मावि र कक्षा १२ देखि डिग्रीसम्मको अध्ययन कनकाई बहुमुखी क्याम्पसबाट सकेका श्रेष्ठ सामाजिक सुरक्षाभन्दा पनि अवसरको खाँचो भएको बताउँछन्। जीवन धान्न नसकिने सुरक्षाभत्ता दिएर राज्यले अवसरबिहीन बनाएको उनको आरोप छ। ‘हामीलाई सरकारले शैक्षिक योग्यता अनुसारको अवसर प्रदान गर्नुपर्छ,’ उनले भने, ‘ठूलो संघर्ष गरेर अध्ययन सकेर पनि अवसर नपाउँदा सारै दुःख लाग्छ।’

ब्रेल लिपीको माध्यमबाट अध्ययन गर्न उनले परीक्षामा साथीहरुको सहयोग लिए। ‘हिडँडुल गर्न समस्या हुन्थ्यो, कोठा बँस्दा उस्तै दुखले बसियो,’ उनले भने, ‘सम्झदा सपना जस्तो लाग्छ। अहिले अवसर नपाउँदा सबै बेक्कार जस्तो लागेर आउँछ।’

उनी दृष्टिविहीनलाई शिक्षण पेशा सहज र उत्तम हुने बताउँछन्। सरकारी विद्यालयमा जागिर खान उनले प्रावि तहका लागि शिक्षा सेवा आयोगमा परीक्षा समेत दिए। लिखितमा नाम पनि निकाले। तर, मौखिक परीक्षामा नाम निस्केन। नाम निकाल्न नसकेपछि सरकारी विद्यालयमा पठनपाठन गर्ने उनको धोको पुरा भएन।

दृष्टिविहीनलाई पनि अपांगताको कोटामा राखेर हेर्न नहुने उनको भनाई छ। उनी दृष्टिविहीनहरुलाई अलग्गै प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

सरकारी विद्यालयमा आयोग पास गर्नैपर्ने बाध्यता भएकोले अवसर प्राप्त गर्न कठिनाई हुने उनी बताउँछन्। निजी विद्यालयहरुले दृष्टिविहीनलाई विश्वास नगरेको भन्दै अवसर दिए क्षमता प्रस्तुत गर्ने उनले बताए।

अध्ययन सकेर ४ वर्षदेखि घरमा बस्दै आएका उनी जस्तोसुकै अवसर पाए पनि नछोड्ने उनी बताउँछन्। उनले नेत्रहिन संघको तर्फबाट निजी विद्यालयहरुमा काम खोजी गर्दा समेत नपाएको उनले बताए।

प्रकाशित मिति: : 2021-12-26 18:05:00

प्रतिकृया दिनुहोस्