नेकपा (माओवादी केन्द्र)ले पुस ११ देखि १३ सम्म हुने पार्टीको प्रथम राष्ट्रिय सम्मेलनमा नयाँ क्रान्तिकारी विचार र नयाँ पार्टी निर्माणबारे बहस गर्ने बताएको छ। सम्मेलनमा नयाँ त्रान्तिकारी विचार र पार्टी निर्माणबारे गम्भीर बहस हुने सम्मलेनकाे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता कृष्णबहादुर महराले बताए।
‘यो अन्य पार्टीले गरेको महाधिवेशन जस्तो होइन्, यो एउटा सम्मेलन मात्रै हो,’ प्रवक्ता महाराले भने,‘यसमा नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणको लागि गम्भीर छलफल हुनेछ।’
२१औँ शताब्दीमा आउँदा मार्क्स, लेलिन र माओले भोगेको शोषणहरु विकास भएर नयाँ शोषणको सुरुवात भएको अवस्थामा नयाँ क्रान्तिकारी विचारबारे पार्टीले गम्भीर छलफल गर्ने उनले बताए। त्यसको लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘डकुमेन्ट’ तयार गरिरहेको उनले जानकारी दिए।
त्यस्तै, ०६४ सालमा सबै भन्दा ठूलो पार्टी यहाँसम्म आउँदा कसरी सानो पार्टी हुने अवस्थामा पुग्यो भन्ने विषयमा गहन छलफल गर्ने तयारी रहेको प्रवक्ता महराले बताए। उनले अन्य पार्टीभन्दा फरक पार्टी बनाउने गरी तयारी थालिएको बताएका छन्।
काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मेलनमा देशभरबाट १५३३ जना प्रतिनिधि सहभागी हुने तय भएको उनले बताएका छन्। उनका अनुसार सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, जेष्ठ कम्युनिष्ट १२५, आयोग ७५, केन्द्रिय विभाग १०२, केन्द्रिय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधि ८०३ गरी १४६० र मनोनीत ७३ गरी १५३३ जना प्रनिनिधि सहभागी हुने छन्।
त्यस्तै सम्मेलनमा अन्य अतिथि नबाेलाउने निर्णय भएकाे महारले बताएका छन्। सम्मेलनकाे लागि काठमाडाैँ प्रवेश गर्ने मुख्य नाकाहरूमा स्वागत गेट तथा पुलहरूमा व्यानर टास्ने उनले बताए।