कक्षा दोहोर्‍याइराख्ने ओलीबाट उत्कृष्ट परिणामको आशा !

दृष्टि

काठमाडौं

एमालेको १०औं महाधिवेशनमा केपी शर्मा ओलीले खुलातर्फको केन्द्रीय सदस्यमा सबैभन्दा कम मत (५६५) पाए। यो मतले उनलाई केन्द्रीय सदस्यमा जिताएन, हरायो। यसले भन्छ, अध्यक्षमा १८३७ मतका साथ प्रचण्ड बहुमतले विजयी भएका ओली केन्द्रीय सदस्यमा चाँहि विजयी हुन सकेनन्।

एमालेमा पदाधिकारीका उम्मेद्वार स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुन सक्ने ‘डिफल्ट’ प्रावधानका कारण ओली पनि खुलातर्फ केन्द्रीय सदस्यका उम्मेद्वार थिए। यही प्रावधानअनुसार सचिवमा पराजित भएका टंक कार्की ९०५ मत ल्याएर खुलातर्फ अन्तिम क्रमसंख्यामा केन्द्रीय सदस्य भए। यसको अर्थ योभन्दा थोरै मत ल्याउने केन्द्रीय सदस्यमा हारे।

यसलाई आधार मान्दा यसपटक एमालेका १९ पदाधिकारीमध्ये सचिवमा विजयी छविलाल विश्वकर्मा मात्र केन्द्रीय सदस्यमा पनि विजयी भए। ओलीसहित अरू १८ पदाधिकारी ९०५ भन्दा कम मत पाएर केन्द्रीय सदस्यमा हारे। यसको सोझो अर्थ हो, केन्द्रीय सदस्यमै हारेका १८ जना अहिले एमालेमा पदाधिकारी छन्।

ठूला नेता पदाधिकारीमा हारे पनि केन्द्रीय सदस्यमा जिताएर स्थायी समिति सदस्यसम्म बनाउन राखिएको प्रावधानको कुरूप तस्बिर हो यो। यसले उनीहरूको नैतिक धरातललाई लिएर प्रश्नचिन्ह उब्जाएको छ। त्यसमा पनि बडेमानको प्रश्न त ओली सामुन्ने नै छ।

भन्नलाई त अध्यक्षमा त्यत्रो प्रचण्ड बहुमतले जितेका ओलीले केन्द्रीय सदस्य पदमा चुनाव लडेकै थिएनन, यो त चुनावी प्रावधानको प्राविधिक कुरा मात्र हो। तर, यो त्यति मात्र हैन, उनी उम्मेदवार भएको हो र ५६५ जनाले मत दिएकै हुन्। अनि, कैफियतमा ‘पदाधिकारीमा विजयी भएकोले हटाइएको’ लेखिएको पनि हो। हो, यस तथ्यलाई बेवास्ता गरियो; कसैले देख्नै चाहेन, कसैले देखेर पनि नदेखेजस्तै गर्यो– यो बेग्लै कुरा हो।

यसरी आफ्नो केन्द्रीय नेतृत्व छानेको एमालेले भर्खरै केन्द्रीय कमिटीको नयाँ वरीयताक्रम सार्वजनिक गरेको छ। एमालेलाई एउटा विद्यालय मान्ने हो भने यो कमिटी नै उसको सबैभन्दा माथिल्लो कक्षा हो। अर्थात्, एमालेको पास आउट हुन लागेको कक्षा हो यो। यो कक्षामा यसपटक विद्यार्थीको कोटा बढाएर ३४५ पुर्याइएको छ। पूरापूर कोटा फुल छ यो कक्षा।

एमाले अध्यक्ष के पी शर्मा ओली अध्यक्षमा जिते पनि केन्द्रीय सदस्यमा भने हारे। हारेनन् मात्र, खुलातर्फको केन्द्रीय सदस्यमा उनले सबैभन्दा कम ५६५ मत मात्र प्राप्त गरे।तर, यो हारलाई छोप्न कैफियतमा लेखियो, 'पदाधिकारीमा विजयी भएकोले हटाइएको '। प्राविधिक रूपमा जे भने पनि तथ्यले उनी हारेकै हुन्।

यो कक्षाका फस्ट ब्वाई अर्थात् रोल नम्बर १ हुन् केपी शर्मा ओली। यसअघिको ब्याचमा पनि ओली रोल नम्बर १ मै थिए। उनले त्यतिबेला भनेका थिए, ‘म कक्षा दोहोर्याउदिन।’ तर, उनले आफ्नो वचन फेरे। त्योभन्दा माथिल्लो कक्षा नभएको वहानामा उनले कक्षा दोहोर्याए।

सामान्यतः कक्षा दोहोर्याइने भनेको फेल हुँदा हो। बाहिरबाट हेर्दा उनी फेल नै देखिए। अर्को विद्यालयसँग मर्ज गरेर ठूलो विद्यालय बनाइएको थियो, उनले त्यो सफलता पनि बिचैमा तुहाइदिए। आफ्नो कक्षाका थुप्रै सहपाठीलाई कक्षा मात्र हैन, विद्यालय नै छोड्नुपर्ने अवस्थामा पुर्याइदिए। तर, पनि उनले आफूले कक्षा दोहोर्याएको कारण फेललाई देखाएनन्, माथिल्लो कक्षा नभएको बताए।

यसपटक एमाले विद्यालयमा सर्वसम्मतिको नाममा गज्जबको नियम बनाइयो। कक्षाको फस्र्ट ब्वाई नै सर्वेसर्वा भयो, बनाइयो। उसले जे चाह्यो त्यही नै विधि विधान बन्यो। कक्षामा कस–कसलाई प्रवेश दिने, सबै उसकै तजबिजमा चल्यो। उसले नै सूची बनाएरै बाँड्यो। प्रवेश दिनेको त सूची बाँडियो नै, प्रवेश दिन नहुनेको पनि सूची बाँडियो।

ओली कक्षामा प्रवेश दिनै नहुनेको सूचीमा चढाइएका थिए, एमालेका पुराना नेता टंक कार्की। सचिवमा उनलाई तगारो लगाइए पनि केन्द्रीय सदस्यका रूपमा उनी ओली कक्षामा छिरिछाडे। त्यसो त उनले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकै हैनन्। पदाधिकारीमा उम्मेदवारी दिने स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुने डिफल्ट सिष्टमले उनलाई उम्मेदवार बनाएको थियो।

यही प्रक्रियाबाट उम्मेदवार बनाइका भीम रावलले त्यतिबेला विजयी भनिए पनि केन्द्रीय सदस्यमा आफूले मनोनयनपत्र नै दाखिला नगरेको भनेर सपथ लिएनन्। सपथ नलिएपछि ओलीको ‘रबरछाप’ निर्वाचन आयोगले रावल पराजित र कार्की निर्वाचित भएको भन्दै परिणाम सच्यायो। रावलको अडानका कारण कार्कीलाई फाइदा भयो र उनी ओली कक्षामा छिरे।

ओली कक्षामा एउटै कक्षाभित्र पनि रोलक्रमको दुईवटा पद्धति बनाइयो। रोल नम्बर ९९ सम्म ओलीलाई लागेको वरिष्ठताका आधारमा रोलक्रम बन्यो, त्यसपछि भने वर्णानुक्रमको आधारमा लिइयो। पछिल्लो आधार वैज्ञानिक भएकाले विवाद हुने कुरा भएन। अघिल्लो आधार भने ओलीको तजविज भएकाले विवादास्पद बन्यो।

पहिला भएको निर्णयभन्दा सचिवको मर्यादाक्रम फरक बनाएर अपानि जारी गरिए पनि त्यसले सबैको हकमा न्याय दिन सकेन। तर, एमाले ओले भैसकेको यतिबेला उनले आफ्नो दया मायाले जसलाई जे दिन्छन्, त्यसैमा चित्त बुझाउनुपर्ने अवस्था छ। अन्याय भए पनि दिन खराब भएको ठानेर तैं चुप मै चुप भएका छन्।

रोलक्रम त विवादमा पर्यो नै, अझ जिम्मेवारीलाई लिएर असन्तुष्टिको ओइरो नै लागेको छ। ओलीलाई मन परेका मानिस केन्द्रीय सदस्य भए पनि उनीहरूलाई पदाधिकारीलाई भन्दा पनि उम्दा र प्रभावकारी जिम्मेवारी दिइयो। एउटा मात्र होइन, दुई–तीनवटा पनि जिम्मेवारी दिइयो। तर, उनलाई मन नपरेकालाई पहिलो त नाम मात्रको जिम्मेवारी दिइयो, केही सम्भावना भएकामा पनि विशेषज्ञता नै नभएको जिम्मेवारी दिइयो।

उदाहरणका लागि टंक कार्कीलाई विज्ञान तथा प्रविधि विभागको प्रमुख बनाइएको छ। उनीसँग यो विभागसित गोरू बेचेको साइनो पनि छैन र उनले यो आफ्नो इच्छाले लिएका पनि होइनन्। यो उनलाई जबर्जस्ती थम्याइएको जिम्मेवारी हो।

चीनका लागि राजदूत रहिसकेका कार्कीलाई विज्ञान तथा प्रविधि विभागमा लगेर कूटनीतिसँग ‘क’ को पनि साइनो नभएका बादललाई कूटनीति सम्बन्धको संयोजक बनाइयो। यसको अर्थ कार्की र बादल त जोकको विषय त बनाइए नै, एमाले विज्ञान तथा प्रविधि र कूटनीतिजस्तो विषयलाई कति महत्वहीन ठान्दोरहेछ भन्ने पनि छर्लङ्गै भयो।

सामान्यतः रोलक्रमको आधार पार्टी अर्गानोग्रामको पदीय जिम्मेवारीले दिन्छ। समान पदमा रहेको अवस्थामा लोकप्रिय मत, पार्टी सदस्यता लिएको मिति र त्यसअघि निर्वाह गरेको पदीय जिम्मेवारीलाई आधार मानिन्छ। यस अतिरिक्त, योग्यता, क्षमता र योगदान पनि आधार हुन सक्छन्। तर, सहज पार्टी जीवन भएको पार्टीमा पछिल्ला यी आधार पनि अघिल्ला दुईले नै निर्धारण गर्ने मानिन्छ।

तर, एमाले अब त्यस्तो पार्टी रहेन। सामुहिक नेतृत्व भनेर बहुपदीय सांगठनिक ढाँचामा लगिए पनि एमालेको अहिलेको व्यवहार त्यस्तो छैन। सर्वसम्मतिका नाममा एमालेलाई यतिबेला यस्तो पार्टी बनाइएको छ जहाँ एमाले र केपी ओली एक अर्काका पर्याय हुन्। ओलीले जे बोल्यो, त्यही फर्मान चल्छ।

एमालेको मूल नेतृत्वमा अहिले सत्ताको भोक यस्तो चलेको छ कि ऊ त्यसका लागि जे गर्न पनि तयार छ।भनिन्छ नि, संसारमा सबैभन्दा ठूलो भोक भनेको सिंहलाई काँचो रगतको हो।अहिले ओलीलाई त्यही स्तरको सत्ताको भोक लागेको छ।आफूले चबाइरहेको शिकार प्रचण्ड र माधव नेपालले खोसिदिएपछि ओली विक्षिप्त भएका छन्।

अर्थात् एमाले ओले भैसकेको छ। यो भाष्यले ओली नै अहिलेको एमालेका अनुहार हुन्। उनी जस्तो देखिन्छन्, त्यही एमाले हो। उनी जस्तो चरित्र बोक्छन्, मूलतः एमालेको चरित्र पनि त्यही नै हो। अहिले एमालेको चरित्र भनेको एक किसिमको स्याडिस्ट चरित्र हो। अर्थात्, आफूलाई भएन भने कसैलाई पनि नहोस्।

ऊ आफ्नो लागि एक मानक बनाउँछ, अर्काको लागि अर्कै। आफूले त्यही गर्दा ठीक हुन्छ, तर अरूले त्यही गर्याे भने बेठीक हुन्छ। यो एक द्वैधचरित्रको पराकाष्ठा हो, पाखण्डपन हो। यसले एमालेलाई त सकाउँछ नै, नेपालको वामपन्थी आन्दोलन पनि यो वा त्यो कोणबाट रफ्तारमा स्खलित हुन्छ।

एमालेको मूल नेतृत्वमा अहिले सत्ताको भोक यस्तो चलेको छ कि ऊ त्यसका लागि जे गर्न पनि तयार छ। भनिन्छ नि, संसारमा सबैभन्दा ठूलो भोक भनेको सिंहलाई काँचो रगतको हो। अहिले ओलीलाई त्यही स्तरको सत्ताको भोक लागेको छ। आफूले चबाइरहेको शिकार प्रचण्ड र माधव नेपालले खोसिदिएपछि ओली विक्षिप्त भएका छन्। अनि संसद चल्नै नदिने, जे गरेर भए पनि गठबन्धन भत्काउने रोडम्यापमा छन् ओली।

तर, मुलुकको पछिल्लो राजनीतिक ध्रुवीकरण र संवैधानिक व्यवस्थालाई आधार मान्ने हो भने ओली कम्पासले दिशा देखाउन छोडिसकेको छ। तैपनि, उनी एमालेको गाडीलाई अन्धाधुन्ध अघि बढाइरहेकै छन्।

फेरिपनि समस्या ओलीकै नियत र ल्याकतमा छ। जब, यी दुबै ठीक नहुँदा पनि उनी त्यो मान्न तयार हुँदैनन् र मात्र कक्षा दोहोर्याइरहन्छन्, तब कसरी आउँछर उत्कृष्ट परिणाम ?

 

प्रकाशित मिति: : 2021-12-21 23:08:00

प्रतिकृया दिनुहोस्