कांग्रेस महाधिवेशन : दोस्रो चरणको मतदान साढे ३ बजेदेखि

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान आज साढे ३ बजेदेखि सुरु हुने भएकाे छ।

सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको हो।

पहिलो चरणकाे मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका छन्।

सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन्।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८१ मतदाताले मतदान गरेका थिए। मतदानमा कूल ७७ मत बदर भएको थियो।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ। समितिका अनुसार देउवाले ४८.२३, कोइरालाले ३६.९३, सिंहले ७.९२, निधिले ५.३१ र गुरुङले ०.०४ प्रतिशत मत ल्याएका छन्। सबैभन्दा बढी मत प्राप्त गर्ने सभापति देउवालाई विजयी हुनका लागि ८१ मत नपुगेको समितिले जनाएको छ।

पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ। पहिलो चरणमा सबैभन्दा बढी मत देउवाले ल्याएका देउवा र दोस्रो धेरै मत ल्याउन शेखरबीच पुनः मतदान हुनेछ।

प्रकाशित मिति: : 2021-12-14 11:08:00

प्रतिकृया दिनुहोस्