राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतसँगको नाकाबन्दीको सामना गरेकोमा प्रशंशा गरेका छन्।
उनले ओली नेतृत्वको पछिल्लो सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रसहितको चुच्चे नक्सा जारी गर्नु, सीके राउतको पृथकतावादी आन्दोलन र विप्लपलाई मूल धारमा ल्याउने कार्य ऐतिहासिक भएको बताए।
‘जतिबेला केपी ओलीको सरकारमा हामी पनि थियौँ, भारतीय नाकाबन्दीले कष्ट झेल्नु परेको थियो। केपी ओलीको सुझबुझका कारण राष्ट्रियतामा आँच आउन नदिई सामना गर्न सफल भयौँ’, उनले भने, ‘उहाँकै मातहतमा रेल, तेल र बिजुलीको दीर्घकालीन आर्थिक खाका तयार गर्न सफल भयौँ।’
केपी ओली सरकारको पछिल्लो गतिविधिबाट भने त्यति सन्तुष्ट नहुनुमा नेकपाभित्रको गतिविधिका कारण जनतालाई दिएको आश्वासन पूरा गर्न नसकेको उनले बताए।
उनले भने, ‘मधेशको पृथकतावादी आन्दोलन र माओवादीको विप्लव समूहलाई मूलधारमा ल्याउने काम भएको छ। लिम्पियाधुरासमेत समेटेर सीमा रक्षाको निम्ति प्रतिवद्धता गरेको छ। चुच्चे नक्सा जारी गरेर नेपाली जनतालाई गुन लगाएका छन्।’