शिक्षामा समानता र रोजगारीको प्रश्न

शिक्षामा निजी र सामुदायिक विद्यालयको दुईखाले वर्गीयता छ। धनी महाजनका लागि आफ्ना सन्तान पढाउने एउटा पृथक् संसार छ। यसभित्र जेजति राम्रा कुरा भए पनि पश्चिमी सोचको विद्रूपता र बडप्पनलाई पनि हुबहु नक्कल गर्दैगर्दा स्वाभिमान, राष्ट्रिय गौरव, मातृभाषा, माध्यम भाषा, सामाजिक मौलिकता क्रमशः हराउँदै जाने भयचाहिँ बढिरहेकै छ। क्षमता भएकाले पनि नेताजीको दैलो कुर्दै झोला भिर्ने गरेका कटु सत्यले शिक्षा र शिक्षित व्यक्तित्वको गरिमालाई नराम्ररी कुँज्याइदियो। अदूरदर्शी पद्धति नै शैक्षिक गुणस्तर विकासका बाधक हुन्।

नेपालले संविधानतः शिक्षामा समाजवादी मान्यता र जनमुखी शिक्षाका कुरालाई गाँस्न चाहेको देखिए पनि ती सिद्धान्तले व्यावहारिकता पाइने देखिँदैन। माक्र्सवादी मान्यताअनुसार ‘सबैलाई योग्यताअनुसारको काम तथा कामअनुसारको दाम’ दिनुपर्छ। समाजवाद आफैँमा  राजनीतिगत मान्यता, सिद्धान्त र दर्शन हो, तर व्यावहारिक उपयोगिता मूल कुरा हो। वास्तवमा उत्पादनका साधनमा राज्यको स्वामित्व रहने समाजवादी मान्यताले राष्ट्रलाई समृद्धितर्फ  लम्काउँछ। नेपालको शिक्षाले स्थानीय शिक्षाका कोणबाट केही अभ्यास भने गरेको देखिन्छ। वस्तुतः समृद्धिको आशामा गुणस्तरीय, व्यावहारिक र प्राविधिक तथा प्रविधिमैत्री शिक्षा र विकासले प्रत्यक्ष सम्बन्ध राख्छ। शिक्षाले दक्ष जनशक्ति उत्पादन हुन्छ, तब समाजवादको अठोटलाई व्यावहारिकता दिन्छ। नेपालले शिक्षित जनशक्तिलाई समयानुसार आफ्नै मुलुकमा अवसर दिने र आवश्यक जनशक्ति उत्पादन गर्दै जाने हो भने यहाँको श्रमशक्ति होइन, वस्तुलाई निर्यात गर्न सम्भव हुन्छ। तर, शिक्षालाई समानता र सहभागितामुखी बनाउने कुरामा बौद्धिक वर्ग नै चनाखो देखिँदैनन्।

हामीकहाँ विद्यार्थी अवस्थामै राजनीति सुरु गर्नेदेखि कमाउ राजनीतिको सहज स्थल र निकाय भनेकै शिक्षालय अर्थात् क्याम्पस र विश्वविद्यालय बन्ने गरेका छन् १ धेरैजसो नेताजीलाई दह्रो बनाउने र देशका परिवर्तनमा साथ दिने विद्यार्थी संगठन हुन्। जसरी पनि नेता जन्माउने स्थल शिक्षालय नै रहेछन्। यसर्थ शिक्षाले राजनीति होइन, राजनीतिले शिक्षालाई चलाएको उल्टो पद्धतिमा हाम्रो देश पछाडि रहेको देखिन्छ। शिक्षक सरुवा, बढुवा, विद्यालय व्यवस्थापन समिति निर्माणमा भागबन्डा हुनु, सरकारी बजेटमा माथिदेखि नै भागबन्डाको पुरानै शैलीमा सुधार हुन नसक्नुलगायत अनेकौँ समस्या पहिल्यैदेखि कायम रहेका छन्। अपारदर्शी कमिसनतन्त्रको मारमा लाखौँ कलिला मस्तिष्क सिकार बनिरहेका छन्।

प्रकाशित मिति: : 2021-11-09 11:27:00

प्रतिकृया दिनुहोस्