गठबन्धन दलहरूले नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने भएको छ।
बुधबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि बागमती प्रदेशमा अर्को सरकार गठनको बाटो खुलेको हो।
सरकार गठनका लागि आवश्यक मतसहित तयार रहेको गठबन्धनले एकीकृत समाजवादीका नेता पाण्डेलाई मुख्यमन्त्री बनाउने भएको हो।
केन्द्रिय गठबन्धनको सहमतिबमोजिम प्रदेशमा नेपाली कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्नेसमेत यसअघि नै सहमति भइसकेको छ। समाजवादीका नेता पाण्डेपछि कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सहमति दुई दलबीच भएको छ।
बागमतीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको चार दलीय गठबन्धन छ।
बाग्मती प्रदेशसभामा १०९ जना प्रदेशसभा सदस्यहरू रहेकोमा सरकार गठनको लागि ५५ सांसदको समर्थन आवश्यक पर्दछ। एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै अहिले एमालेका ४३ जना मात्र सांसद छन्।
यस्तै, प्रमुख प्रतिपक्ष माओवादीका २३ जना, कांग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) को एक जना प्रदेशसभा सदस्य छन्।