एमालेको पदाधिकारी बन्न एक कार्यकाल केन्द्रीय सदस्य भएको भए पुग्ने, महाधिवेशन प्रतिनिधि बन्न सदस्य भएको १० वर्ष अनिवार्य(पूर्ण पाठ)

नेकपा (एमाले) ले केन्द्रीय पदाधिकारीदेखि स्थानीय तहसम्मको पार्टी नेतृत्वमा पुग्नका लागि आवश्यक योग्यता तोकेको छ। एक महिनापछि मंसिर महिनामा बुटवलमा हुने पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बन्न र केन्द्रीय नेतृत्वका लागि चुनाव लडन एमालेले योग्यता तोकेको हो। 

एमालेको असोज १५–१७ गते गोदावरीमा सम्पन्न विधान अधिवेशनले पारित गरेको विधान सोमवार मात्रै सार्वजनिक भएको हो। उक्त विधानअनुसार, महाधिवेशन प्रतिनिधिको उम्मेद्वार हुन पार्टी सदस्यता पाएको कम्तिमा १० वर्ष भएका सदस्य मात्र योग्य हुनेछन्।

महाधिवेशन प्रतिनिधि चुनिनका लागि सदस्य भएको १० वर्ष पुगेको हुनुपर्ने योग्यता तोके पनि महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा भने पार्टी सदस्य भएको सात वर्ष पुग्ने छ। 

एमालेको केन्द्रीय सदस्यको उम्मेद्वार बन्न कम्तिमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भएको हुनुपर्ने व्यवस्था गरिएको छ। 

नयाँ विधानअनुसार, प्रदेश कमिटी सदस्य वा केन्द्रीय विभागको सदस्य तथा जिल्ला कमिटीको पदाधिकारी वा जनसंगठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल काम गरेको व्यक्ति पनि केन्द्रीय सदस्यको उम्मेदवार बन्न पाउने छन्। 

समावेशी कोटाबाट भने एक कार्यकाल जिल्ला कमिटी वा सोभन्दा माथिल्लो कमिटीको सदस्य भई काम गरेको र सात वर्ष पार्टी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्यको उम्मेदवार बन्न सक्ने एमालेको विधानमा उल्लिखित छ।

केन्द्रीय कमिटीको पदाधिकारी बन्नका लागि कम्तिमा एक कार्यकाल केन्द्रीय सदस्य भएको हुनपर्ने ब्यवस्था गरिएको छ। 

यसैगरी स्थानीय तह वा सोभन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था पनि एमालेले गरेको छ। 

यस्तै सबै तहका कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद विधानमा लगाइएको छ तर ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशन वा अधिवेशन नभएसम्म आफू निर्वाचित भएको पदमा रही जिम्मेवारी बहन गर्न भने बाधा नपुग्ने ब्यवस्था विधानमा गरिएको छ।

एमालेको महाधिवेशन प्रतिनिधि र नेतृत्वका लागि चुनाव लड्न यस्तो तोकियो योग्यता

महाधिवेशन वा अधिवेशनको प्रतिनिधि हुन वा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्य पदको उम्मेदवार हुन देहाय बमोजिमको न्यूनतम योग्यता पूरा भएको हुनुपर्नेछ :

१. राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिनका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्नेछ। तर महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी–जनजाति र अपाङ्गता भएका व्यक्तिले भने सात वर्ष पार्टी सदस्य भई काम गरेको भए पुग्नेछ।

२. केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्यका लागि उम्मेद्वार हुन केन्द्रीय कमिटीको सदस्य भई एक कार्यकाल काम गरेको हुनुपर्नेछ।

३. केन्द्रीय कमिटी सदस्यको उम्मेद्वार हुनका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य वा प्रदेश कमिटीको सदस्य वा केन्द्रीय विभागको सदस्य वा जिल्ला कमिटीको पदाधिकारी वा जनसंगठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्नेछ। तर महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी–जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा भने एक कार्यकाल जिल्ला कमिटी वा सोभन्दा माथिल्लो कमिटीको सदस्य भई काम गरेको र सात वर्ष पार्टी सदस्य भई काम गरेको भए पुग्नेछ।

४ केन्द्रीय अनुशासन आयोगको सदस्य हुन केन्द्रीय कमिटीको सदस्यको योग्यता पुगेको र पार्टी जीवनमा अनुशासनको कारबाहीमा नपरेको हुनुपर्नेछ। अध्यक्ष हुनका लागि स्थायी कमिटी सदस्यको योग्यता पुगेको हुनुपर्नेछ।

५ केन्द्रीय लेखापरीक्षण आयोगको सदस्य हुन केन्द्रीय कमिटीको सदस्यको योग्यता पुगेको र आर्थिक प्रशासन तथा लेखापरीक्षणका विषयमा व्यवहारिक ज्ञान भएको हुनुपर्नेछ। अध्यक्ष हुनका लागि स्थायी कमिटी सदस्यको योग्यता पुगेको हुनुपर्नेछ।

६ केन्द्रीय निर्वाचन आयोगको सदस्य हुन केन्द्रीय कमिटीको सदस्यको योग्यता पुगेको र निर्वाचनसम्बन्धी कानुनी र व्यवहारिक ज्ञान भएको हुनुपर्नेछ। अध्यक्ष हुनका लागि स्थायी कमिटी सदस्यको योग्यता पुगेको हुनुपर्नेछ।

७ केन्द्रीय सल्लाहकार परिषद्को सदस्य हुन केन्द्रीय कमिटीको सदस्यको योग्यता पुगेको वा पार्टी सदस्य भई कम्तीमा ३० बर्ष काम गरेको वा दर्शनशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, परराष्ट्र मामिला, कानुन र विज्ञान प्रविधिजस्ता विषयको विज्ञ र १० बर्ष पार्टी सदस्य भई काम गरेको हुनुपर्नेछ। अध्यक्ष हुनका लागि स्थायी कमिटी सदस्यको योग्यता पुगेको हुनुपर्नेछ।

८. विभागको सदस्य हुन एकतह तल्लो कार्यकारी कमिटीको सदस्य वा सम्बन्धित विषयको विज्ञ हुनुपर्नेछ।

९. प्रदेश कमिटीको सदस्य हुन कम्तीमा सात वर्ष पार्टी सदस्य भई काम गरेको र जिल्ला वा सोभन्दा माथिल्लो कमिटी वा विभागको सदस्य भई एक कार्यकाल काम गरेको हुनुपर्नेछ। तर महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिको हकमा भने पार्टी सदस्य भई पाँच बर्ष काम गरेको र एक कार्यकाल जिल्ला कमिटी वा जनसंगठन वा विभागमा रही काम गरेको भए पुग्नेछ।

१०. जिल्ला र सो मातहतका कमिटी, निकाय वा विभागको पदाधिकारी तथा सदस्य पदका लागि उम्मेद्वार हुन सम्बन्धित अधिवेशनले तोकेबमोजिमको योग्यता हुनुपर्नेछ।

११. अन्य पार्टीबाट वा सामाजिक क्षेत्रमा विशिष्ट योगदान गरी पार्टीमा प्रवेश गरेका व्यक्तिको हकमा महाधिवेशन वा कुनै पनि तहको अधिवेशनमा प्रतिनिधि हुन वा कुनै पनि कमिटीको सदस्य पदका लागि उमेद्वार हुन पार्टी सदस्यताको अवधिसम्बन्धी व्यवस्था लागु हुने छैन।

१२. पदाधिकारी वा सदस्य पदमा निर्वाचित व्यक्तिको योग्यता पुरा भएको छैन भनी उजुरी परेमा सम्बन्धित कमिटीले छानवीन गर्नेछ र तोकिएको न्युनतम् योग्यता पुरा नभएको पुष्टि भएमा निज पदमुक्त हुनेछ।

प्रकाशित मिति: : 2021-10-19 16:06:00

प्रतिकृया दिनुहोस्