प्रचण्डले भन्छन्- वैद्यदेखि विप्लव, बाबुराम, उपेन्द्र र मोहनविक्रमसँग संवादमा छु 

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिस्ट आन्दोलनमा नयाँ एकता र रुपान्तरण खोज्ने बेला आएको बताएका छन्।

शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा सपनाको पाण्डुलिपि गीतिसंग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिस्ट एकताका लागि नेताहरूसँग छलफल गरिरहेको जानकारी गराए।

'हाम्रो आन्दोलन बिग्रेको छ। हामी सबै ठूलो भइयो। किरण, बाबुराम, विलप्व र बादल ठूला भए। को कति पानीमा ओभानो रहेछ भन्ने देखियो। अब आ-आफ्नो ठाउँमा बसेर समीक्षा गरौं,' उनले भने।

पहिला भूमिगतमा हुँदा कसैले नाडी छाम्न नपाएको र फुटाउन पनि नसकेको भन्दै शान्ति प्रक्रियामा आएपछि देशीविदेशी प्रतिक्रियावादीले नेतापिच्छे उचालेर फुट ल्याएको उनको भनाइ थियो।

'बाहिर आएपछि सबैलाई प्रतिक्रियावादीको गुटले समातेर कुरा लाइदिए। प्रचण्डले तपाइँलाई हेपेको छ, घेरा हालेको छ भनेर साँच्चै सिध्याउन खोजेको जस्तो बनाए। यस्तो भन्ने सामन्त, दलाल, नोकर, विदेशीहरू देखे। सत्य यही हो। प्रतिक्रियावादीले कम्युनिस्ट आन्दोलनमा फुट ल्याए। हामी प्रभावित नभएको भए हुन्थ्यो। कुनै न कुनै रूपमा प्रभावित भइयो। समीक्षा गर्नुपर्छ। फटाहाहरूले कसरी फुटाउनेर रहेछन् ज्ञान प्राप्त भयो,' उनले भने।

माओवादी जनयुद्ध विदुपीकरण, भ्रष्टिकरण, विखण्ड र विर्सजन गर्ने षडयन्त्र भइरहेको भन्दै दाहालले त्यसविरुद्ध एकजुट हुनु बुद्धिमानी हुने बताए। 'नयाँ एकता र रुपान्तरण खोज्ने बेलामा पुगेका छौं। एकताको खोजी गरौं। आत्मसमीक्षाबाट सुरु गरौं। त्यसबाट नयाँ एकता, नयाँ आधार पाउन सक्छौं,' उनले भने।

यसका लागि आफूले सबै कम्युनिस्ट नेतासँग सहकार्य गर्न संवाद अघि बढाएको उनको भनाइ छ। 'हामी सहकार्य गर्नेमा छौं। किरण, विप्लव, बाबुराम, उपेन्द्रसँग नि कुरा भइरहेको छ। मोहनविक्रम जीसँग पनि बढो सौहार्दपूर्ण कुराकानी भइरहेको छ। यसलाई विगार्ने काम नगरौं। यसलाई उचाईमा लैजाने काम गरौं,' उनले भने।

प्रकाशित मिति: : 2021-10-01 17:49:00

प्रतिकृया दिनुहोस्