‘संसद विघटन भयो भनेर अहिले एकथरि मानिस कराइरहेका छन्’, आफूले गरेको संसद विघटन निर्णयको बचाउ गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘ती कराउने मान्छेहरू लोकतन्त्र विरोधी हुन्। संविधान विरोधी हुन्। ती कराउने मान्छेहरू जनविरोधी हुन्।’
यो एउटा त्यस्ता ‘शासक’हरूको भाष्य हो, जसले आफ्नो आलोचनालाई पूरै व्यवस्था विरोधी ठान्छ। अनि त्यो व्यवस्थामाथिको आक्रमण ठान्छ।
आफूलाई ‘शक्तिशाली’ प्रधानमन्त्री ठान्दै पटक पटक संसदको घाँटी निमोठ्न खोज्ने यिनै ओली हुन्। जो अहिले ‘संसदीय मर्यादा’ र ‘विधि-विधान’ सिकाउँदैछन्।
२०७७ साल पुस ५ गते ओलीले पहिलोचोटी संसदको घाँटी निमोठ्दा उनले कार्यकाल सम्हालेको डेढ वर्ष पनि पुगेको थिएन। सर्वोच्च अदालतले थामिदिएको संसदको त्यो सास फेरि उनले २०७८ जेठ ८ गते थुन्न खोजे।
एउटा ठूलो लडाइँपछि ‘जनता’ आफैले बनाएको भनिएको २०७२ सालको संविधानले संसद विघटनको कुनै परिकल्पना नै गरेको छैन। त्यसमा पनि माओवादीलाई समेत समाहित गराएर ‘नेकपा’ बनाएका केपी ओली प्रधानमन्त्री हुँदा उनले आफूलाई इतिहासकै ‘शक्तिशाली’ प्रधानमन्त्री ठानेका थिए। अन्तत: पार्टीभित्र फाटेको धाँजा टाल्न नसकेपछि उनले संसद नै भंग गरिदिए।
सर्वोच्च अदालतले अबका दिनमा संसद विघटनको ‘कल्पना’समेत नगर्न एउटा नजीर स्थापित गरिदियो। पटक पटक संसदको घाँटी थिच्दै आफूलाई प्रधानमन्त्रीकै पदमा राखिराखेका ओलीलाई ‘परमादेश’बाट पदमुक्त पनि गराइदियो। यिनै ओली आज भन्दैछन् ‘संसद विधिले चल्नुपर्छ। निमयले चल्नुपर्छ र लोकतान्त्रिकरुपमा चल्नुपर्छ।’
०००
नेपाली काँग्रेसले रोजेको एक्लै चुनाव लड्ने नीतिको बाटोसँगै मोडिएको सत्तासमीकरणले अन्तत: उसलाई प्रतिपक्षको बेन्चमा पुर्यायो। अघिल्लो वर्ष दुई महिनामै बाहिरिएका नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीहरू फेरि सत्तामा फर्किए।
दोहोरो नागरिकता प्रकरण सुल्झाएर फेरि चुनाव लडेर जितिआएका रास्वपाका सभापति रवि लामिछाने यसपालि फेरि गृहमन्त्री हुँदासम्म उनी अनेकौँ त्यस्ता मुद्दामा मुछिइसकेका थिए। गृहमन्त्री भएपछि अहिलेसम्म पनि उनी सहकारीको पैसा अपचलनका अनेकन मुद्दाहरूमा गाँसिदै आएका छन्।
प्रतिपक्ष नेपाली काँग्रेसले उनै गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान हुनुपर्छ भनेको हो। त्यसकै लागि उसले छानबिन समिति बनाउनुपर्छ भनेको हो। त्यसकै लागि नेपाली काँग्रेसले संसदका अरु काम कारबाही अघि बढाउन रोकेको हो।
ओलीले बुझ्नुपर्छ- नेपाली काँग्रेसले संसदका काम कारबाही अवरुद्धमात्रै गरेको हो, संसद रोकेको होइन। संसदको घाँटी अँचेटेको होइन। एउटा जनप्रतिनिधिमाथि लागेको आरोपलाई जनप्रतिनिधिको त्यही थलो संसदभित्रै समाधान खोजौँ भनेको हो। समाधानको बाटो खोजेको हो। विरोध अनि आलोचनाका यी यस्ता विधि-विधानहरू संसदीय अभ्यासमै कुँदिएका हुन्।
ओलीले जबर्जस्ती समाउन खोजेको ‘विघटन’को बाटो संविधानमा कहाँ कोरिएको थियो र? भलै नियतमा प्रश्न गर्न सकिएला नेपाली काँग्रेसले किन संसदका कामकारबाही अघि बढ्न दिएको छैन र त्योबेला ओलीले किन संसदै भंग गर्न खोजेका थिए।
‘पुस ५ गते प्रतिनिधिसभाको विघटन गर्यौँ। ठीक गर्यौँ। ठीक ठानेर गर्यौँ। ठीक थियो र गर्यौँ। होइन भने हारो आन्दोलन ध्वस्तै हुन्थ्यो। हामी खत्तमै हुन्थ्यौँ’, यद्यपि त्योबेला नै ओलीले आफ्नो नियत प्रस्ट भनिसकेका थिए, ‘मैले संसद विघटन नगरेको भए नेकपा नै वर्वाद हुने थियो।’
ओली आफैले स्वीकार गरेको कुरा हो, पार्टी बिथोलिएपछि, सम्हाल्न नसकेपछि ओलीले संसदमाथि ‘विघटन’को डन्डा चलाए। तर ‘नेकपा’ बचाउने ओलीको त्यो अभीष्ट सर्वोच्चको एउटै फैसलाले खारेज गरिदियो। न उनले आफ्नो सरकार बचाउन सके, न पार्टी नै बचाउन सके। न उनले आफूलाई लत्याएर जाने नेता कार्यकर्ताहरू रोकिराख्न सके।
यति हुँदाहुँदै पनि ओलीले भनेजस्तै अहिले काँग्रेसले जनतालाई प्रस्टसँग भन्नैपर्छ, ‘के आफूले फकाएर नफकिएपछि अनि आफ्नो राजनीतिक अभीष्टका लागि संसदका कामकारबाही रोकेको हो?’
ओली अनि देउवा सबैलाई थाहै होला ‘अभीष्ट’ भनेकै त्यो कहिल्यै पूरा नहुनु भनेको हो।
संसदको गतिमा देखिएको यो अवरोध हटाउनका लागि भूमिका खेल्नुपर्ने दायित्व ओली आफ्नै पनि हो। सत्ताको नेतृत्व उनले गरुन् वा अरु कसैले संसदमा धेरै सांसद भएको पार्टी नेकपा एमाले पनि हो। त्यसको नेतृत्व ओली आफैले गर्छन्।
काँग्रेस-माओवादी मिलेर लडेको चुनाव(२०७९) पछि सत्ता समीकरणमा फेरबदल ल्याउने एउटा पात्र यिनै ओली नै हुन्। अनि वर्षदिनकै पेरिफेरिमा अर्को ‘उथलपुथल’ ल्याउने पनि यिनै ओली हुन्।
संसदको बैठकमा नेपाली काँग्रेसका सांसद तथा महामन्त्री गगन थापाले सभामुखलाई गाली गरेका होइनन्। ओलीले भनेजस्तो उच्छृङ्ल भएर संसदमा छिल्लिएका होइनन्।
गगनले संसदले नै दिएको ‘अधिकार’को समय मागेका हुन्। ओलीले भनेजस्तो ‘निगाह’को समय होइन। बरु निगाह त उनीहरू आफैले मागिरहेका छन्, सत्ता टिकाउन। गृहमन्त्री बचाउन अनि ‘प्रधानमन्त्री’को पालो पाउन। काँग्रेसका लागि पनि ‘सत्ता पल्टाउने’ पासा हुनसक्छ। संसदीय राजनीतिमा ‘सत्ता’को महत्वाकांक्षा दलीय चरित्र नै हो। त्यो सबैलाई हुन्छ। ओली, प्रचण्ड, रवि होउन् या माधव नेपाल, झलनाथ र उपेन्द्र यादवहरू नै किन नहोउन्। राजेन्द्र लिङ्देनदेखि रेशम(रञ्जितालाई अघि लाएर) अनि सिके राउतहरू यही चरित्रबाट प्रेरित भएरै आएका हुन्। भलै ‘सिद्धान्त’ र आदर्शका ठेलीहरू आफ्नो ठाउँमा होला। अनि स्थिर र अस्थिर, धीर अनि अधीरका परिभाषाहरू उनै ओली, देउवा र प्रचण्डहरूलाई नै अझ बढी थाहा होला।
पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाली काँग्रेसमाथि अराजनीतिक टिप्पणी मात्रै गरेका छैनन्, बरु संसदमै नेपाली काँग्रेसमाथि ‘प्रत्यक्रमण’ उत्रिन आफ्ना सांसदहरूलाई निर्देशन पनि दिएका छन्। वार्ता, संवाद र सहमतिबाट समाधानको बाटो पहिल्याउन अघि सर्नुपर्ने ओली आफैले आफ्ना सांसदहरूलाई उक्साउँदै काँग्रेसमाथि जाइलाग्न भनेका छन्।
‘अब हामी नेपाली काँग्रेसले बकबास गरिरहने र हामी सुनिरहने होइन, अब त्यो बकबास सुनिरहन हामी तयार छैनौँ। यतै टोक्या छ, उतै टोक्या छ। उतै भुक्या छ। के तरिका हो यो?’ ओलीले आफ्ना सांसदहरूलाई भनेका छन्, ‘नेपाली काँग्रेसले अब रविलाई बोल्न दिएन भने हामी आफैँ बोल्नेछौँ।’
गगनलाई भाषा सिकाइरहेका ओलीको यो आफ्नैचाहिँ कस्तो भाषा हो? गगनले सभामुखलाई ‘अनुरोध’ गरेका थिए। आफ्नो अधिकार सम्झाएका थिए। ओलीले त झन गाली नै गरिरहेका छन्।
अझ त्यसमा पनि सारा सांसदका ‘साझा’ भइसकेका सभामुखलाई उनले ‘हाम्रै’ अर्थात् नेकपा एमालेकै भएको भने घोषणा गरिदिए। भलै सभामुख पदमुक्त भएका दिन देवराज घिमिरे नेकपा एमालेकै नेता हुन पनि पाउँछन् र सभामुखको कुर्सीमा उनी एमाले वा ओलीका मात्रै होइन, बाँकी सबै २७४ जनाका पनि ‘सभामुख’ हुन्। संसदभित्र संसदीय मर्यादा ओली होइन, उनै घिमिरेले सभामुखलाई सिकाउने अधिकार छ।
तर ओलीले भनिदिए, ‘संसदमा सभामुखसँग के भाषा हो त्यो नेपाली कांग्रेसको? नेपाली काँग्रेसका विभिन्न प्रकारका मान्छेहरू। त्यस्ता मान्छेहरू नेकपा एमालेका नेताहरूमाथि मर्यादाहीन ढंगले, उच्छृङ्खलताको पनि हद हुन्छ नि! त्यस ढंगले आरोप उछालेर हिँड्ने गरेका छन्।’
ओलीलाई हेक्का होस्, सभामुख देवराज घिमिरे एमालेका मान्छे होइनन्।
अलिकति ओलीको भाषण पढौं-
‘…र अहिले भन्ने गरेका छन्, संसद चल्न नदिएको एमालेले गर्दा हो। प्रधानमन्त्री पनि चलाऔँ भनिरहनुभएको छ। रवि लामिछाने आफै पनि चलाउँ भनिरहनुभएको छ। एमालेले चलाउन दिएको छैन भनेर। हामी पनि चलाऔँ भनिराखेका छौँ। तर काँग्रेसको दादागिरी होइन संसद भनेको। काँग्रेसको दादागिरी चल्ने ठाउँ होइन, सांसद विधि नियमले चल्नुपर्छ। लोकतान्त्रिक तरिकाले चल्नपर्छ संसद। सांसदहरूले बोल्नै नपाउने? उसले आरोप लगाउने अरुले बोल्नै नपाउने? कस्तो खालको हो यो लोकतन्त्र भन्न लाज लाग्दैन काँग्रेसलाई?
कसैमाथि आरोप लगाएपछि त्यो व्यक्ति सांसद जसलाई हामी माननीय भन्छौँ। कुनै माननीयमाथि व्यक्ति तोकेर यो संसदीय अभ्यासै यस्तो होइन? नेपाली काँग्रेसको कुनचाहिँ सांसद न्यायाधीश हो र फलानो अपराधी हो भनेर तोक्ने? राजनीतिक अभीष्ट पूरा भएन भने, स्वार्थ पूरा भएन भने अर्को अपराधी भइहाल्ने? अनि आफ्नोतर्फ आउनलाई फकाउँदा आएन भने अपराधी भनिहाल्ने…! कांग्रेस तानाशाही चलाउन खोज्छ कि, सहअस्तित्व कांग्रेस बुझ्छ? कांग्रेसले किस्तीमा दिएर लोकतन्त्र स्विकारेका होइनौँ, हाम्रो बलिदानीले आएको हो लोकतन्त्र। कांग्रेसले एमालेबारे बोल्दा, टिप्पणी गर्दा याद राखोस्…!’
अनि सोधौँ- ओलीज्यू यो कस्तो भाषा हो? यो कस्तो मर्यादा हो? यो कस्तो शिष्टता हो? यो कस्तो राजनीतिक संस्कार हो? यो कस्तो विधि-विधान हो? यो कस्तो सभ्यता हो? अनि यो कस्तो ‘अभीष्ट’ हो?
प्रश्न गर्न पाइन्छ….!