नेपालको राजनीतिको लामो कालखण्ड यस्तो थियो, जहाँ नेकपा एमालेका तत्कालीन नेता केपी शर्मा ओलीले के भन्नुहुन्छ भन्ने कुराले ठुलो महत्व राख्द थियो। हुन त उहाँ एमालेको कार्यकारी प्रमुख हुनुहुन्न थियो तर पनि एमालेको निर्णयहरुमा उहाँको भूमिका रहने गर्थ्यो।
भलै एमालेको तत्कालीन नेतृत्वमा रहेका नेताहरु माधवकुमार नेपालदेखि झलनाथ खनालसम्मलाई केपी ओलीले आफू पार्टीभित्रको प्रतिपक्षको रुपमा रहेको व्यवहार गर्न कहिल्यै छोडनुभएन। तर त्यसको बाबजुद पनि नेतृत्वले उहाँको विचारलाई निषेध गरेन र उहाँको व्यक्तित्व विकासमा बाधा अवरोध सिर्जना बिल्कुल गरेन। त्यसैको फाइदा प्राप्त भएर नै पार्टी प्रमुख नहुँदै केपी ओली नेपालको राजनीतिमा एक शक्ति केन्द्रको रुपमा स्थापित भैसक्नुभएको थियो।
यदि हाल उहाँ हुनुभएजस्तै तानाशाही माधव-झलनाथहरु भैदिएको भए, हालको एमालेमा जस्तो छलफल बहसलाई वर्जित गर्ने काम त्यसबेला भएको भए केपी ओलीको हालत पनि आजको दिनमा एमालेका नेता अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा वा भिम रावल जस्तो हुन्थ्यो। तर तत्कालीन एमालेको नेतृत्वमा प्रतिस्पर्धीलाई सक्नुपर्छ भन्ने आज जस्तो सोच थिएन। त्यसैले केपी ओलीलाई सिध्याउने हैन, कतिपयबेला त जोगाउने र अगाडि बढाउन जोखिम मोल्ने काम पनि नेतृत्वबाट भएकै हुन्।
जस्तै कि केपी ओलीले खास सहभागिता नजनाउनुभएको मात्रै नभई त्यसको सफलतामा समेत आशंका राख्नुभएको २०६२/०६३ को आन्दोलन उहाँको खिसिट्युरी र न्यून सहभागिता बिना पनि सफल भएको अवस्थामा एमालेको तत्कालीन नेतृत्वनिकट नेताहरु केपी ओलीको राजनीति त्यही बिन्दुमा समाप्त पार्न चाहन्थे। नेतृत्वले त्यही कुरा बुझेर ‘त्यसो गर्नुहुन्न’ भनेर केपी ओलीले आन्दोलनप्रति गरेको असहयोगी भूमिकालाई समेत नजरअन्दाज गर्दै उहाँलाई आन्दोलनपछिको सरकारमा पार्टीको नेतृत्व गरेर पठाउने जोखिम उठायो।
तत्कालीन नेतृत्वले उठाएको त्यो जोखिमकै जगमा केपी ओलीले पार्टी नेतृत्वदेखि सत्ताको नेतृत्वसम्म पाउन सक्ने आधार बनाउन सक्नुभयो। भलै आफूलाई समाप्त हुन नदिने गरेर जोखिमपूर्ण निर्णय लिने ती पात्र अर्थात् माधव नेपालप्रति केपी ओली कति असहिष्णु ढंगले लाग्दै आउनुभएको छ, त्यो त कसैको सामु छुपेको छैन। त्यसैले त्यता चर्चा गरिरहनु नै नपर्ला।
यति सबै लेख्दै गर्दा पनि यो चाहिँ जरुर स्विकार्नुपर्छ कि विगतको त्यो समयमा पनि उहाँको पार्टीको आन्तरिक राजनीतिको पाटोलाई छोडेर तत्कालीन माओवादी हिंसा र आतंकप्रतिको उहाँको विरोध र त्यसको खुल्ला प्रकटीकरणले गर्दा स्वयम् पंक्तिकार पनि आन्तरिक विरोध स्विकार्दै केपी ओलीलाई अगाडि बढ्न दिने तत्कालीन निर्णय सहि थियो भन्ने मान्छेहरुमै पर्दथ्यो।
त्यतिमात्रै नभई तत्कालीन अवस्थामा नाजुक रहेको उहाँको स्वास्थ्यका बाबजुद उहाँले पार्टी नेतृत्व गर्न खोज्दा उहाँलाई बिना प्रतिस्पर्धा सर्वसम्मत नेतृत्वमा आउन दिनु सहि हुन्छ भन्ने ठानेर तत्कालीन अवस्थामा उहाँको विपक्षीमा उम्मेदवार बन्दै रहनुभएका श्रद्धय माधव नेपालज्युलाई हिम्मत गरेर फोन गर्दै भनेको थिएँ ‘यस पटक तपाईंले केपी ओलीलाई सर्वसम्मत हुन दिएर छोड्नुभए हुन्न?’
चुनावी मैदानमा रहनुभएको अवस्थामा पनि उहाँले मेरो दुस्साहास मिश्रित सवालको जवाफ बडाे सहजता साथ दिनुभएको थियो। त्यसबेला उहाँले भन्नुभएको थियो कि ‘हेर्नुस् अवस्था हेर्दा चुनाव मैले जित्छु होला र यदि ठिकै छ भनेर मैले छोडे पनि कोही न कोही त उठ्छ नै। विश्वास गर्नुस् मबाहेक अरु उठेमा अधिवेशनपछि पार्टी एक रहन्न। त्यसैले म उठ्छु, जिते उहाँलाई पनि मिलाएर चलाउँछु, हारेँ भने उहाँलाई सफल बनाउन लाग्छु।’
उहाँको त्यो सहजता र सरल उत्तरले मलाई अवाक बनाएको थियो। वास्तवमै अधिवेशनको परिणाम हेर्ने र विश्लेषण गर्ने जोसुकैले बुझ्नसक्ने तत्कालीन अवस्थाको प्रष्ट सन्देश थियो कि अन्तरघात र प्राविधिक चलाखी नभएको भए माधव नेपालले केपी ओलीलाई एमाले अध्यक्ष पदमा पराजित गर्नुहुने थियो। त्यसपछि के भयो? त्यो सबैले देखेकै कुरा हो।
माधव नेपालले अधिवेशनको परिणाम स्विकार्दै केपी ओलीलाई बधाई मात्रै दिनुभएन, केपी ओलीको नेतृत्वमा पार्टीलाई अगाडि बढाउन सहयोग गर्दै रहनुभयो। माधव नेपालको सहयोग नरहेको भए केपी ओली सुरुमै प्रधानमन्त्री बन्नसक्नु हुने थिएन, नेकपा बनाउँदै झन्डै दुई तिहाईसहितको प्रधानमन्त्री बन्नसक्नु हुने थिएन।
त्यस्ता धेरै कुरा छन्, जो माधवको साथ बिना केपी ओलीले केही गर्नसक्नु हुने थिएन। फेरि त्यसो भन्दैमा माधव नेपालको सफलताहरुमा चाहिँ केपी ओलीको साथ कहिल्यै थिएन भन्ने पनि हैन। माधव नेपालको राजनीतिक सफलतामा पनि केपी ओलीको महत्वपूर्ण भूमिका रहेकै हो। यत्ति हो कि आफूलाई गरिएको गुणलाई माधव नेपालले गुणले तिर्नुभयो भने केपी ओली त्यो मामलामा कृतघ्न ठहर हुनुभयो।
केपी ओलीको राजनीतिक जीवन, एमालेको इतिहासदेखि वर्तमान तथा माधव नेपाल र ओलीको सम्बन्धको विश्लेषण गर्ने हो भने यति जरुर भन्न मिल्छ कि केपी ओलीलाई माधव नेपालले बनाए तर ओलीले माधव नेपाललाई समाप्त पार्न कुनै कसर बाँकी राखेनन्।
हाल एमाले विभाजित हुन पुगेको अवस्थामा केपी ओली चाहिँ एमालेमा रहेको र माधव नेपालले नेकपा (एकीकृत समाजवादी) बनाउन परेको अवस्थालाई हेरेर कतिपयले हल्का रुपमै ‘पार्टी विभाजन रोक्छु भन्ने माधव नेपालले पनि पार्टी त फुटाए नि!’ भन्न सक्नेछन्। झट्ट हेर्दा त्यो ठिकै देखिएला अनि सुनिएला तर यथार्थ के हो भने माधव नेपालले एमाले फुटाएको नभई एमालेको मूल परिचय नै धुमिल हुने गरेर संवैधानिक सर्वोच्चतासहितको कानुनी राज्यमाथि धावा बोलिएपछि त्यसलाई रोक्न जे गर्नुपर्थ्यो, त्यही गरेको मात्रै हो।
आफूले जे व्यवस्था ल्याउन राजनीतिमा लागेको हो, त्यही व्यवस्थामाथि नै प्रहार भएपछि आफूसमेतको त्याग, बलिदान र संघर्षले निर्माण भएको संविधानमाथि नै आफू सम्वद्ध दलको नेताको नेतृत्वमा प्रहार भएपछिको अवस्थामा तत्कालकै लागि सहि माधव नेपालले एमाले विभाजन नगरी सुख नपाएका हुन्। छुट्टै पार्टी बनाएर हिँडिसकेकोले त्यस पार्टीको हितको लागि र आफ्नो निर्णयको परिणामप्रतिको स्वामित्वको लागि पनि माधव नेपालले मनकै कुरो त बोल्न नसक्नु होला तर सत्य के हो भने आज पनि माधव नेपालको मनमा आफूले बनाएको एमाले पार्टीप्रति माया छ।
एमालेलाई अप्ठ्यारो समयमा जन्माएको, मुस्किलले हुर्काएको र चुनौतीको बीचमा टिकाएको हुनाले माधव नेपाल कुनै पनि हालतमा एमाले पार्टीको विरोधी हुन सक्नुहुन्न, हुनुहुने छैन। तर यो पनि सत्य हो कि एमाले पार्टीको सुन्दरता ठानिने उसको संवैधानिक सर्वोच्चतासहितको लोकतन्त्रप्रतिको प्रतिवद्धताविपरीत अगाडि बढ्ने केपी ओलीको गतिविधिमा लगाम नलागुन्जेल एमाले वास्तविक एमाले बन्न सक्दैन। अनि स्वाभाविक रुपमा माधव नेपालकाे मात्रै के कुरो, हालको एमालेभित्र रहेका असली एमालेहरुले नै पनि हाल एमालेको बचाउ गर्न सक्दैनन।
आखिर असली एमालेहरुले नै पनि अहिलेको एमालेको व्यवहारमा देखिएको नीति र त्यस्तो नीति लिएर हिँडेको नेतृत्वको बचाउ कसरी र कतिन्जेल चाहिँ गर्नु त? केपी ओलीले आफ्नो सत्ता स्वार्थ पूरा गर्नकै लागि आफूले सदैव गाली गरेको, कार्यकर्तालाई गाली गर्न लगाएको माओवादी पार्टी र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग गला मिलाउनुभयो। कार्यकर्ताले त्यसलाई हाँसेर सहे।
नीति, विचार कार्यक्रमको तालमेल बिना पार्टी नै एकता गराउनुभयो, त्यसलाई पनि मानेर बसे। जब आफैँले प्रचण्डसँग सहमति गरेको आधा-आधा कार्यकाल सत्ताको सहमति पालना गर्ने दिन आयो, तब फेरि अनेकन बहानामा प्रचण्डमाथि उत्रिनुभयो र कार्यकर्ता उतार्नुभयो। त्यसप्रति पनि अधिकांशले आपत्ति गरेनन्।
हुँदा हुँदा सत्ताकै लागि आफैँले बनाएको पार्टी फुटाउन अदालत, संवैधानिक निकायदेखि गरिमामय राष्ट्रपति संस्थालाई समेत प्रयोग गर्नुभयो। त्यति मात्रै हैन, अदालतको आदेशले गर्दा नै आफ्नो स्थानमा फर्किएको एमालेलाई पनि सग्लो रहन नदिन अनेकन गर्नुभयो। जसको परिणामस्वरूप मुटुमाथि ढुंगा राखेर माधव नेपाल र झलनाथ खनालहरुले एमालेबाट विद्रोह गरेर अर्को पार्टी बनाउन बाध्य हुनुभयो भने पार्टी फुटाउन हुन्न भन्दै एमालेमै रहेका भिम रावल र घनश्याम भुषालहरुको राजनीतिलाई सौराहा काण्डमा कत्लेआम गरियो।
कतिसम्म भने आज एमाले र ओलीलाई सबैभन्दा ज्यादा गाली गर्ने दुर्गा प्रसाईंसमेतले बरु त्यो सौराहा काण्डमार्फत् एमालेको केन्द्रीय सदस्य बन्न सकेका थिए। तर भिम रावलहरुचाहिँ आज प्रतिनिधि परिषद् बैठकको प्रवेश पाससमेत नपाउने अवास्थामा पुर्याइए। विचरा असली एमालेहरु त सबै सहेको सहेकै त छन्।
असली एमालेहरुले अन्तर पार्टीको ओली दादागिरी त सहेका छन् नै, त्यसको अलावा आम राजनीतिलाई नै दुषित पार्ने ओली अराजकता पनि लामो समयदेखि सहन मात्रै हैन, अनेकन कुतर्क गर्दै त्यसको बचाउ गर्न पनि एमालेवालाहरु बाध्य छन्। जस्तै आफूलाई गणतन्त्रवादी भन्ने तर राजेन्द्र लिङ्देन, दिपक बोहोरासहित कमल थापासमेतलाई चुनाव जिताउन लाग्नुपर्ने दुखद् नियति पनि एमालेवालाहरुले भोग्नुपर्याे।
हिजो संविधान रक्षार्थका लागि मात्रै काँग्रेससँग सहकार्य गर्नेहरुलाई गाली गर्दै उनीहरुलाई काँग्रेसको मतियारसमेत भन्न पछि नपरिकन परिचालन भएको एमाले पंक्ति २०७९ को चुनावपछि सुरुमा त्यही काँग्रेससँग सत्ता सहकार्यको रोदन गर्न बाध्य भयो। जब काँग्रेस गठबन्धनप्रतिको इमान गुमाउन तयार भएन, तब फेरि आफूले शब्दकोषमा भए जति गाली गरेर सकेको माओवादी अनि त्यसको अध्यक्ष प्रचण्डको सत्ता यात्राको सारथी बन्न ओली तयार भए, एमालेलाई बाध्य बनाए।
त्यसको बाबजुद केही दिनमै प्रचण्ड जब ओली र एमालेसँगको गठबन्धन छोडेर पुरानै ठाउँमा फर्किए, तब फेरि प्रचण्डविरुद्ध गाली गलौजमा तिनै एमालेलाई उतार्ने काम भयो। फेरि कसो कसो गरेर प्रचण्डलाई आफ्नो कित्तामा ल्याउन ओली सफल भएपछि फेरि गाली गलौजको वर्षात छोडेर चाकरीजन्य शब्दहरुले प्रचण्ड पुकार्न पनि एमाले बाध्य छ।
विचरा एमालेहरुको हालत त यस्तो भैसक्यो कि कुन दिन ओलीले ‘सूर्य पश्चिमबाट उदाएछ, अब बिहानै पश्चिम फर्केर सूर्यलाई पानी चढाउनू’ भन्दिने हुन् र आफू सूर्यतर्फ ढाड फर्काएर सूर्य पुजन गर्न बाध्य हुनुपर्ने हो भन्ने अन्योलमा बाँचेको छ।
अब त कमरेड ओली यतिसम्म तल झरिसके कि राज्यका निकायहरुले प्रष्ट संकेत गरेका ठगिजन्य गतिविधि गर्नेहरुको बचाउमा उत्रिने, जनता ठग्न पाइन्न भन्नेहरुको मान-मर्दन गर्ने मात्रै नभएर हुँदा हुँदा गिरीबन्धु टि-स्टेटको जग्गा जोगाउने सम्मानित अदालतको फैसलाविरुद्ध बोल्ने दिनसम्म आउँदा त ‘हामीले कानुन बनाएरै सरकारी जग्गा व्यक्तिलाई खान दिन खोज्यौँ त के गल्ती गर्यो? अनि हामीले मात्रै त्यसो गरेको हो र? काँग्रेसलगायत अरुले पनि गरेकै हुन नि!’ भन्ने तहमा पुगिसके।
थाहा छैन आफ्नो बेलगाम अराजकतामा केपी ओली अझै कति हदसम्म जानुहुन्छ अनि ओली अराजकताको त्यो शृंखलालाई असली एमालेहरुले कतिन्जेल सहन्छन्। खैर जे होस्, ओलीलाई एमाले नभई ‘बामाले’ बन्न प्रेरित गर्ने नक्कली एमालेहरुदेखि ओली राजमा थिचिएका असली एमालेहरुले अझै सहेछन् भने पनि आम नेपाली जनताले चाहिँ धैर्यताको बाँध अब फुट्ने सम्भावना छ।
आशा गरौँ कि जनताको धैर्यता टुटेर बालकोट जनताको ‘निशाना’ बन्दै गर्दासम्म असली एमालेहरुले चाहिँ आफूलाई ओलीको हैन, जनताको बनाउन सकुन्।