‘नमो: ह्याट्रिक’ अनि ‘आरजी’को भविष्य

photo : livelaw

भारतका एकजना कुशल चुनावी रणनीतिकार प्रशान्त किशोर ‘पिके’ भन्छन्- ‘लगातार यति धेरै चुनाव हारेर पनि कंग्रेस नेता राहुल गान्धीको चुनाव र राजनीतिप्रतिको विश्वास गज्जवको छ। तर, यसरी नै चुनाव हार्दै आएको भए सायद नरेन्द्र मोदी कहिँकतै भेटिने थिएनन्।’

राजनीतिक वृत्तमा राहुल गान्धी ‘आरजी’ भनेर छोटकरी नामले पनि चिनिन्छन्।

लगाताराका चुनावमा पराजयपछि भारत जोडो यात्रा सन् २०२२-२०२३ र ‘भारत जोडो न्याय यात्रा २०२४’ आरजीहिँड्न खोजेको राजनीतिक भविष्यका केही उदाहरणीय प्रयास हुन्।

पछिल्लोपटक वनारस पुगेका प्रधानमन्त्री मोदीले आफ्नो एक अन्तर्वार्तामा विपक्षीलाई कटाक्ष गर्दै देशमा बलियो विपक्षी बनुन् भनेर कामनासमेत गरेका छन्।

यो पटकको भारतको संसदको चुनावमा देशको नेतृत्व गर्ने मुख्यगरी राजनीतिक मुहारका रुपमा एकातर्फ प्रधानमन्त्री नरेन्द्र मोदी ‘नमो’ छन्। अर्को खेमामा राहुल गान्धी ‘आरजी’ नै छन्।

जबकि भाजपामा जे.पी नड्डा अध्यक्ष छन्। अनि कंग्रेसमा मल्लिकार्जुन खरगे अध्यक्ष छन्।

यसबीच प्रधानमन्त्री नरेन्द्र मोदी ‘नमो’को उत्कर्ष र राहुल गान्धी ‘आरजी’को राजनीतिक पदार्पणको एउटै अवधी रहनुको खामियाजा आरजीले भोग्नु परिरहेको तर्क भारतमा बेलाबखत उठिरहन्छ।

मोदी सत्ताका अघिल्लतिर सिमल झैं उभिने कि बाँस झैं झुकेर अघि बढ्ने रणनीतलाई प्रयोग गरिरहेका छन्। 

खासगरी कंग्रेसले सत्तामा रहँदा गरेका कमजोरीलाई आरजीले खुलेर स्वीकार गरिरहेका छन्।

कंग्रेस नेता आरजीको राजनीतिक परिपक्वतामा बढेको उनका पछिल्ला कदम र उनका कैयौँ अभिव्यक्तिहरूले देखाउँछन्। उदाहणका लागि कंग्रेस सत्तामा रहँदा अपनाइएको उदारीकणरमा कमजोरी भएको आरजीले स्वीकार गरेका छन्।

त्यसैगरी अर्को उदाहरण हो पिछडा वर्गका लागि प्रदान गरिने आरक्षणका काममा चर्चित मण्डल आयोगको प्रतिवेदन लागु गर्न नसक्नु कंग्रेसको कमजोरी भएको उनी आफैँले स्विकारेका छन्। धर्मका आधारमा आरक्षण दिन नसक्नु कंग्रेसकै कमजोरी हो भनेर उनी आफैँले भनिरहेका छन्।

उनले सन् १९७५मा आफ्नी हजुआमा इन्दिरा गान्धीले देशमा संकटकाल लगाउनुसमेत गलत भएको कुरा बताइसकेका छन्।

सत्तरीको दशकमा जन्मिएका राहुल गान्धीमाथि सत्तारुढ समीकरणको सबैभन्दा ठूलो आरोप भनेकै परिवारवादको विरासतका पात्र भन्ने नै छ। सन् २०१७-२०१९ सम्म भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्ष रहेका गान्धीले सन् २०१९ चुनावको पराजय स्वीकार्दै अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

राजनीतिको केन्द्र दिल्ली र हिमालय शिवालिग क्षेत्र देहरादूनमा आरजीको बाल्यकाल बितेको थियो। सन् २००२ मा अमेरिकााट फर्किएका आरजीले सुरुवातका वर्षहरूमा राजनीतिप्रति खासै चासो देखाएका थिएनन्।

आरजीले ’ब्याकप्स सर्भिसेज’ नामक स्टार्टअप व्यवसाय गरेका थिए। तर, सन् २००४ देखि आरजी सासंदको भूमिकामा रहँदै आएका छन्। पहिलो चुनवी अभियानमा आरजीले भन्ने गर्थे ‘म चुनाव जित्न होइन, जनताको मन जित्न आएको छु।’

आरजी १४ वर्षको हुँदा उनकी हजुरआमा इन्दिरा गान्धीको हत्या भएको थियो। जब आरजी २१ वर्षका पुगे उनका पिता राजीव गान्धीको पनि हत्या भयो। गत वर्ष मोदी थरका पछाडि उनले गरेको भाषणका कारण अदालतले उनलाई दोषी देखाइयो। निर्वाचन आयोगले उनको सांसद पद रद्दसमेत गरिदिएको थियो। तर, पछि अदालतबाटै उनी सांसद वहाली पनि भए।

सन् २००७मा अल इण्डिया कंग्रेस कमिटीमा महासचिव भएका थिए। सन् २०१३ मा उनी पार्टीको मथिल्लो पद उपाध्यक्ष चयन भएका थिए। सन् २००४, २००९ र २०१४ मा उत्तर प्रदेशको अमेठीबाट आरजी निर्वचित भए। सन् २०१९मा अमेठीबाट उनी पराजित भए। सन् २०१८९मा आरजी दक्षिण भारतको केरल राज्यको वायनाडबाट मात्रै विजयी भएका थिए। यो पटक उनी उत्तर प्रदेशको रायवरेलीबाट पहिलोपटक चुनावी मैदानमा छन्। रायवरेली गान्धी  परिवारको सुरक्षित क्षेत्र मानिन्छ। दक्षिण भारतको कनपुरामा जन्मिएका डिके शिव कुमारले यतिबेला आरजीको चुनावी रणनीति सम्हालिरहेका छन। जो दक्षिण भारतका एक कुशल चुनावी रणनीतकारका रुपमा सुपरिचित अनुहार पनि हो।

भारतमा लोकसभा चुनावको सरगर्मी छ। सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) नेतृत्वको समीकरण एनडिए र विपक्षी दलहरूको समीकरण ‘इण्डिया’ दुवै समीकरण आ-आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्ने प्रयामा छन्।

लोकसभा चुनाव ७ चरणमा भइरहेको छ। १६ मार्चमा लोकसभा चुनाव २०२४ को घोषणा भएको थियो। ५ सय ४३ सिटका लागि चुनाव भइरहेको छ। पहिलो चरण १९ अप्रेलदेखि सुरु भएको मतदान अन्तिम चरण १ जुनमा सकिने छ। ४ जुनमा चुनावी नजिता सार्वजनिक गर्ने कार्यतालिका भारतको चुनाव आयोगले बनाएको छ। यसरी विश्वकै सबैभन्दा ठूलो ‘प्रजातान्त्रिक अभ्यास’ भारतको यो आमचुनाव ८० दिनसम्म हुनेछ।

तर, यसपटक चुनाव आयोगले मतदानपछि कति मतदान भयो भनेर समयमै जानकारी नगराउने र मिडियासँग साक्षात्कार नगरेकोमा आलोचना भइरहेको छ। भारतमा त्यहाँको चुनाव आयोग अदालतजत्तिकै संवैधानिक अधिकार प्राप्त निकाय हो।

एउटा प्रसङ्ग यहाँ जोडौँ, पिपुल्स डेमोक्रेटिक प्रमुख महबूबा मुफ्तीले चुनाव आयोगलाई पत्र लेख्दै पार्टी कार्यकर्ताको धरपकड नगर्न भनेकी छन्। जम्मु-कश्मिरमा अनुच्छेद ३७० हटाएपछि यहाँ पहिलोचोटी चुनाव भइरहेको छ।

आमचुनाव घोषणाको केही दिनअघि चुनाव आयुक्त अरुण गोयलले एकाएक राजीनामा दिएका थिए। भारतको सर्वोच्च अदालतको कोर्टको २ मे, २०२३ को दिशानिर्देशनको उल्लंघन गर्दै २ जना चुनाव आयुक्त नियुक्ति गरिएकोमा ब्यापक विरोध भएको थियो।

त्यसैगरी भारतीय सेनामा लागु गरिएको छोटो अवधीको ‘अग्नीबीर’ योजनाको पनि विपक्षी दलहरूले विरोध गरिरहेका छन्।

उता मोदीले भारतको संविधान पण्डित जवाहरलाल नेहरु र इन्दिरा गान्धीले बदलेको आरोप लगाउँदै आइरहेका छन्।

भारतमा यतिबेला विपक्षी गठबन्धन प्रधानमन्त्री नरेन्द्र मोदीबाट संविधानमाथि आक्रमण भएको र संविधानको रक्षा गर्नुपर्ने भन्ने मुद्दामा केन्द्रित छन्। त्यही सत्तारुढ भाजपा नेतृत्वको समीकरण संसदमा ४ सय पारको नारालाई अघि बढाइरहेको छ।

भारतमा भएको पहिलो लोकसभा सन् १९५१–५२ मा भएको निर्वाचनमा ४ सय ८९ सिट मध्ये ४५ प्रतिशत मतसहित ३ सय ६४ सिटमा जवाहरलाल नेहरुको नेतृत्वमा इण्डियन कंग्रेसले सफलता हासिल गरेको थियो।

सन् १९५७ को लोकसभा निर्वाचनमा ४ सय ९४ सिटमध्ये ३ सय ७१ सिटमा ४७.७८ प्रतिशत मतका साथ विजयी भएको थियो। सन् १९६२ को लोकसभा निर्वाचनमा कूल सिट संख्या ४ सय ९४ मध्ये ३ सय ६१ सिटसहित ४४.७२ प्रतिशत मतसहित कंग्रेस विजयी भएको थियो। भारतमा लगातार जवाहरलाल नेहरूको सत्तालाई मतदाताहरूले ३ पटक साथ दिएका थिए।

त्यसैगरी सन् १९६७ मा भएको ५ सय २० सिटका लागि भएको चुनावमा ४०.७८ प्रतिशत मतसहित २ सय ८३ सिट संख्यासहित विजयी भएको थियो। ४३.६८ प्रतिशत मत प्राप्त गर्दै ५ सय १८ लोससभा सिटमा ३ सय ५२ सिट जितेर कंग्रेसले चुनाव जितेको थियो। सन् १९७७ मा भएको लोकसभा निर्वाचनको ५ सय ४२ सिटमा जनता पार्टीले २ सय ९८ सिटमा ४३.१७ प्रतिशत मतसहित विजयी भएको थियो। १९८० मा भएको भारतको लोकसभामा ४२.६९ प्रतिशत मतसहित ३ सय ५१ सिट जितेर कंग्रेस सत्तामा पुग्यो। सन् १९८४ मा भएको निर्वाचनको ५ सय १४ सिटमध्ये ४९.१० प्रतिशतसहित ४ सय ४ सिटमा कंग्रेस विजयी भएको थियो।

लोकसभा चुनाव १९८९ मा ५ सय २९ सिटमध्ये कंग्रेसले ३९.५३ प्रतिशत मत प्राप्त गर्दै २ सय ४४ सिटमा विजयी हासिल गरेको थियो। भारतमा भएको दशौं लोकसभा निर्वाचन सन् १९९१ मा भएको ५ सय २१ सिटमध्ये २ सय ४४ सिटमा ३५.६६ प्रतिशत मत प्राप्त गरेको थियो। तर, कंग्रेसको सत्तालाई उल्टाउँदै भारतीय जनता पार्टीले सन् १९९६ मा भएको ५ सय ४३ सिटमध्ये १ सय ६१ सिटमा २०.२९ प्रतिशत मतले विजयी हासिल गरेको थियो।

लगातार १९९८मा भारतीय जनता पार्टीले चुनाव जित्यो। ५ सय ४५ सिटका लागि भएको उक्त निर्वाचनमा १ सय ८२ सिटमा भारतीय जनता पार्टीले २३.७५ प्रतिशत मत प्राप्त गर्दै निर्वाचन जितेको थियो।

सन् २००४मा आएर कंग्रेस सत्तामा फर्कियो। ५ सय ४३ सिटमध्ये १ सय ४५ सिटसहित समीकरणमा सरकार बनायो। सन् २००९ मा भएको ५ सय ४५ सिट मध्ये २ सय ६ सिटसहित कंग्रेसको युपिए गठबन्धनको सरकार बन्यो। तर, सन् २०१४मा आएर ५ सय ४५ सिट मध्ये ३१.३४ प्रतिशत मत प्राप्त गर्दै २ सय ८२ सिटसहित भारतीय जनता पार्टी (भाजपा)ले नरेन्द्र मोदीको बहुमतको सरकार बनाउँदै सत्तामा फर्कियो। सन् २०१९मा भारतीय जनता पार्टीले ३ सय ३ सिटमा अपार सफलता पायो। जबकि भाजपाको नेतृत्वमा रहेको समीकरणले ३ सय ५३ सिट जित्यो। भाजपाले ३७.३६ प्रतिशत मत पायो। प्रधानमन्त्री मोदी यतिबेला ह्याट्रिकको प्रयासमा छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी ‘नमो’को ग्यारेन्टी कार्ड र राहुल गान्धी ‘आरजी’को भारत जोडो न्याय यात्रा कसले मतदाताको मन जित्नेछ त्यो भने मत परिणामले नै देखाउला।

प्रकाशित मिति: : 2024-05-16 09:47:00

प्रतिकृया दिनुहोस्