संसदीय समितिमा बदलिँदै अंकगणित

संसद्को सबैभन्दा ठूलो दल एमाले र चौथो ठूलो शक्ति जसपा विभाजनपछि संसदीय समितिको अंकगणित पनि फेरबदल हुने भएको छ।

विभाजनबाट बनेका दुई पार्टी एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीका सांसदको संसदीय समितिमा उपस्थिति रहनेछ। संसदीय समितिमा अंकगणित हेरफेर हुँदा सत्तागठबन्धनका लागि अनुकूलता हुने देखिएको छ।

सर्वाेच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि अहिले दोस्रो अधिवेशन चलिरहेको छ। यहीबीचमा एमाले र जसपा फुटे। केपी ओली नेतृत्वको सरकार हटेर शेरबहादुर देउवा प्रधानमन्त्री बनिसके। तर, संसदीय समिति हेरफेर भएको छैन। नयाँ राजनीतिक दलले चाँडै समिति हेरफेरको माग गरेका छन्। ३० चैत ०७७ मा अन्तिमपटक समितिमा हेरफेर भएको थियो। त्यसपछि सरकार फेरियो, तर समिति हेरफेर भएको छैन।

प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार हरेक समितिमा २७ जना सदस्य रहन्छन्। नियमावलीको नियम १७२ मा विषयगत समितिमा सभामुखले प्रतिनिधिसभाको सहमति लिई पदेन सदस्यबाहेक बढीमा २७ जना सदस्य मनोनयन गर्ने व्यवस्था छ। प्रतिनिधिसभामा १० वटा विषयगत समिति छन्।

विभाजनपछि पनि संसद्मा एमाले सबैभन्दा ठूलो दल हो। अहिले एमालेसँग प्रतिनिधिसभामा ९८ सिट छ। त्यसकारण संसदीय समितिमा समेत उसको प्रतिनिधित्व ठूलो हुनेछ। प्रतिनिधिसभाका १० समितिमध्ये आठवटा समितिमा एमालेका १०–१० जना हुनेछन् भने दुईवटा समितिमा नाै–नाैजना प्रतिनिधि हुनेछन्। 

 

प्रकाशित मिति: : 2021-09-30 09:37:00

प्रतिकृया दिनुहोस्