चितवन कांग्रेसकाे पालिका अधिवेशन : देउवा र पौडेल पक्षका तीन/तीन, एक तठस्थ

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनका सात पालिकामा नयाँ नेतृत्व चयन भएकाे छ। सातमध्ये कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका तीन/तीन जना नगर सभापतिका उमेदवार निर्वाचित भएका छन्।

जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनामा पौडेल पक्षका मानिएका कृतिकुमार श्रेष्ठ विजयी भएपनि उनले आइतबार एक विज्ञप्ती जारी गरी आफू कुनै पक्षमा नरहेको बताएका छन्। रत्ननगर, खैरहनी र राप्तीमा देउवा पक्षका उमेदवार निर्वाचित भए भने भरतपुर, कालिका र माडीमा पौडेल पक्षका उमेदवार निर्वाचित भए।

आइतबार भएको निर्वाचनबाट भरतपुर महानगरपालिका नगर सभापतिमा चित्रसेन अधिकारी र रत्ननगर नगरपालिका नगर सभापतिमा प्रल्हाद सापकोटा विजयी भएका छन्। अधिकारी पौडेल पक्षका हुन् भने सापकोटा देउवा पक्षका हुन्। कांग्रेस भरतपुर नगर सभापतिका लागि भएको निर्वाचनमा पाँच प्रतिस्पर्धी भिडेका थिए। पाँच प्रतिस्पर्धीलाई हराउँदै चित्रसेन विजयी भएका हुन्।

चित्रसेन अधिकारीले ६४९ मत प्राप्त गर्दा उनका उनका नजिकका प्रतिष्पर्धी भरत अधिकारीले ५४६, हिरामणि अधिकारीले १२९, वचन कार्कीले ७५ र अर्जुन रिजालले २६ मत प्राप्त गरे। नगर सभापतिमा निर्वाचित अधिकारी भरतपुर–२१ का वडाध्यक्ष समेत हुन्।

नगर उप-सभापतिमा बुद्धिकान्त न्यौपाने र विजय घले निर्वाचित भए। उप-सभापतिको लागि ९ जना उमेदवारबीच चुनावी प्रतिस्पर्धा भएको थियो। सचिवमा प्रनिशा गुरू र कृष्ण बगाले विजयी भए। सचिव पदका लागि सात जना चुनावी प्रतिस्पर्धामा थिए। सह-सचिव पदमा उपेन्द्र पण्डित र कल्पना पौडेल निर्वाचित भए। सहऔ-सचिव पदका लागि आठ जनाको उमेदवारी थियो।

कांग्रेस रत्ननगर नगर सभापतिमा निर्वाचित प्रल्हाद सापकोटाले २४६ मत प्राप्त गर्दा उनका नजिकका प्रतिष्पर्धी रुपनराज घिमिरेले १६८ मत प्राप्त गरे। उप–सभापतिमा अपिल अधिकारीले २४८ र कमलनाथ अधिकारीले २०० मत प्राप्त गरी निर्वाचित भए। सचिवमा अनिता अर्यालले २५९ र तिर्थराज सुवेदीले १८७ मत प्राप्त गरी विजयी भए। सह–सचिवमा रामचन्द्र पौडेलले २०५ र अमृत मल्ले १९४ मत प्राप्त गरी विजयी भएका हुन्।

अन्य पाँच पालिकामा यसअघि नै निर्वाचन सम्पन्न भइसकेको हो। कांग्रेस खैरहनी नगरपालिकामा देउवा पक्षका गुणराज श्रेष्ठ र राप्ती नगरपालिकामा देवेन्द्र लामा निर्वाचित भएका हुन्। कालिका नगरपालिकामा पौडेल पक्षका दिपेश्वर केसी र माडी नगरपालिकामा कमलनाथ भुषाल विजयी भएका हुन्। न्युज कारखाना

प्रकाशित मिति: : 2021-09-27 15:44:00

प्रतिकृया दिनुहोस्