सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ: अध्यक्ष ओली

फाइल तस्विर
फाइल तस्विर

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी निवारणमा विशेष जोड  दिनुपर्ने बताएका छन्।

भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘महिला सशक्तीकरण सांस्कृतिक तथा व्यापार महोत्सव’ को उद्घाटन गर्दै उनले सरकारले जनताको आवास र आम्दानीको स्थितिलाई सुदृढ र सुनिश्चित गर्दै गरिबी निवारणमा जोड दिनुपर्ने बताए।

उनले हरेक मानिसले हावाहुरी, हिउँद, बादल र गर्मीजस्ता समस्याबाट बच्नका लागि सुरक्षित आभाव र आधुनिक सुविधा हुनुपर्नेमा बताए। अहिले पनि जनताले पौष्टिक र सन्तुलित आहार, सर्बसुलभ गुणस्तरिय शिक्षा, सहज र गुणस्तरीय उपचारजस्ता आधारभूत आवश्यकताका लागि लड्नुपरेको भन्दै यी आधारभूत आवश्यकता पूरा गर्नसक्ने गरि आम्दानीवृद्धि हुनुपर्ने उनको भनाइ थियो।

‘म पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालजस्तो देशमा अब भोकले कोही पनि नमरून भनेर अभियान सुरूगरेको थिए। मलाई हटाइएपछि त्यो अभियान रोकियो। अर्को पल्ट प्रधानमन्त्री हुँदा फेरि त्यसलाई अगाडि बढाए’, उनले भने,‘त्यसकारण देश र जनताले भोगेका समस्याप्रति जिम्मेवार हुन सबैलाई  आग्रह गर्दछु।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सुकुम्बासीका बस्ती बनाउने अभियान सञ्चालन गरेर उपत्यकाका सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्ने बताए। उनले भने, ‘सुकुम्बासीको समस्या समाधान गर्नुपर्दछ। तीनै तहका सरकारले नागरिकको गास, बास, खान पाउने  अधिकारप्रति उत्तरदायी हुनुपर्दछ।’

उनले पार्टी जनताको काम गर्न उद्देश्यसहित आफ्नो पार्टी सरकारमा गएकाले जनताको पक्षमा काम गर्ने प्रयास अगाडि बढाइरहेको बताए।

सङ्गठनका अध्यक्ष शान्ता चौधरीले सरकारले सुकुम्बासी समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: : 2024-05-02 19:21:00

प्रतिकृया दिनुहोस्