बेपत्ता आयोगकी अध्यक्षको गुनासोः नियमावली नहुँदा ‘फिल्ड’मा जान सकिएन

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष लीलादेवी गडतौलाले नियमावलीको अभावका कारण काममा गति दिन नसकिएको बताएकी छन्। 

बिहीबार काठमाडौमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आयोग फिल्डमा गइहाल्ने अवस्था नभएको भन्दै नियमावली नहुँदा कामको गति रोकिएको बताइन्।

उनले भनिन्, ‘उपत्यका बाहिरका पीडितहरू छिटो गर्नुहोस् भन्दै हुनुहुन्छ। तर नियमावलीका कारण कामले गति लिन सकेको छैन। तुरुन्तै फिल्डमा गइहाल्ने अवस्था छैन। कार्यक्रमहरूको फरम्याट बनाउन सकिएको छैन। हाम्रो संयन्त्र कसरी परिचालन गर्ने भन्ने नै अन्योलता छ। यसमा सम्बन्धित निकायलाई घचघच्याइरहेका छौं।’

उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नियमावलीमा पहिले चार वर्ष कार्ययोजना बनाउने र पछि प्रत्येक वर्षको कार्ययोजना बनाउने रहेको बताइन।

उनले भनिन्, ‘कार्ययोजना पहिले चार वर्षको बनाउने हो अनि चार वर्षपछि प्रत्येक वर्षको बनाउनुपर्छ भन्ने छ। हामीले आफैंले आफैलाई बाँधेर अघि बढ्ने हो। आफैंले आफैंलाई बाँधेनौं भने परिणाममा नपुग्न सक्छौं।’
 
उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगबीच समन्वय गरी काम अघि बढाउने पनि बताइन्।

प्रकाशित मिति: : 2025-06-26 18:00:00

प्रतिकृया दिनुहोस्